इजरायलसहित पश्चिम एसियाका चार देशमा पुनः श्रम स्वीकृति खुला
काठमाडौँ । इजरायलसहित विभिन्न चार देशका लागि नेपाल सरकारले पुनः श्रम स्वीकृति खुला गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयले अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण स्थगित भएको श्रम स्वीकृति पुनः खुला गरेको हो। यो निर्णयसँगै अब इजरायल, कुवेत, बहराइन र लेबनान जान चाहने नेपाली कामदारले पुनः श्रम स्वीकृति लिएर आफ्नो गन्तव्यतर्फ जान पाउने भएका छन्।
यसअघि पश्चिम एसियामा इजरायल, अमेरिका र इरानबीच बढ्दो तनाव र युद्धको सम्भावनालाई मध्यनजर गर्दै सरकारले यी मुलुकहरूमा श्रम स्वीकृति दिन बन्द गरेको थियो। विशेषगरी इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्न थालेपछि त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षामा जोखिम देखिएकाले गत फागुन १७ गतेदेखि श्रम स्वीकृति स्थगन गरिएको थियो।
तर, अहिले ती मुलुकहरूको सुरक्षा अवस्था र परराष्ट्र मन्त्रालयको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को पछिल्लो प्रतिवेदनलाई आधार मान्दै पुनः श्रम स्वीकृति दिने बाटो खुला गरिएको हो। इराकको हकमा भने यसअघि पुस ११ गते भएको निर्णयअनुसार नै प्रक्रिया अघि बढ्ने विभागले प्रष्ट पारेको छ।
उल्लेखनीय छ कि, यसअघि सरकारले चैत ३ गते साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्की जस्ता मुलुकहरूका लागि पुनः श्रम स्वीकृति सुचारु गरिसकेको थियो। बाँकी रहेका अन्य मुलुकहरूको हकमा पनि सुरक्षा स्थिति क्रमशः सहज हुँदै गएकाले यो निर्णय लिइएको मन्त्रालयले जनाएको छ।
पुनः श्रम स्वीकृति खुला भए पनि नयाँ श्रम स्वीकृतिका बारेमा भने सरकार अझै पर्ख र हेरको अवस्थामा छ।













