के तपाइँलाई थाहा छ ? नेपाली र अंग्रेजी नयाँ वर्ष एकै दिन पर्न पनि सक्छ नि ! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

के तपाइँलाई थाहा छ ? नेपाली र अंग्रेजी नयाँ वर्ष एकै दिन पर्न पनि सक्छ नि !



फरक फरक समयमा आउने क्यालेन्डरका ‘नयाँ वर्ष’हरु केवल हाम्रो सांस्कृतिक उत्सवमात्रै होइनन् । यी त व्रह्माण्डको अनुपम गणित मन्थन गरेर निकालिएका अमृतहरु हुन् । अनि बडा रोचक पनि छन् ।

हामीले हिजो मनाएको नयाँ वर्ष (वैशाख १) र ग्रिगोरियन क्यालेन्डरमा मनाइने जनवरी १ दुबै एकै दिन पर्छ भन्यो भने तपाइँ छक्क पर्नुहोला । तर त्यसो हुन सम्भव छ ।

अहिले वसन्त ऋतुको धपधपी गर्मीमा मनाइने वैशाख (मेष) सक्रान्ति र शिशिरको ठन्डीमा मनाइने ‘न्यू इयर’ एकै समय र एकै दिन पर्नु असम्भव छैन । तर यसका लागि लामो समय कुर्नुपर्छ ।

यो हाम्रो व्रह्माण्डीय गति र गणितको रोचक कहानी हो । के तपाइँ यो कहानी जान्न चाहनुहुन्छ ?

यो गणितभित्र पस्नुअघि हामीले पृथ्वी हिँड्ने बाटोलाई थाहा पाउनु पर्छ । पृथ्वीको आकार वास्तवमा भकुण्डोजस्तो गोलो छैन । यो धर्तिको सतह कतै थेप्चिएको, कतै बाहिर निस्केको, कतै भित्र पसेको छ । लगभग गोलो, तर सुन्तलाको दानाजस्तो छ ।

अर्कातिर पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव सीधा पनि छैन । सामान्यतया हामी बाटोमा हिँड्दा हाम्रो शीर अगाडी झुक्ने गर्छ । त्यसरी नै पृथ्वी पनि २३.४४ डिग्री झुकेर अर्थात् कोल्टिएर सूर्यको परिक्रमा गर्छ । बच्चाहरुले भुरूङ घुमाउँदा त्यो विल्कुल सिधा घुम्दैन; अलिअलि हल्लिएर, कोल्टिएर घुम्छ । ठ्याक्कै यस्तै तयरिकाले पृथ्वीले सूर्यको परिक्रमा गर्छ ।

यसरी पृथ्वी ढल्किएको थिएन भने संसारमा मौसमी फेरबदल नै हुँदैन थियो । त्यस्तो अवस्थामा सायद यो ग्रह पनि मान्छे र लाखौँ अरु प्राणिहरु बस्न लायक पनि हुने थिएन । यही ढल्काइका कारण ऋतुहरु बदलिन्छन् र जाडो, गर्मी हुन्छ । त्यसैले रुखका पात कहिले झर्ने र कहिले पलाउने भन्ने समय छुट्टिन्छ ।

तेस्रो असमानता धर्तिको बाटोमा हो । पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा पनि एउटा गोलो घेरामा घुम्दैन । पृथ्वी कहिले सूर्यको नजिक पुग्छ, कहिले टाढा ।

चौँथो असमानता चाहीँ यसको गति हो । यदी हामीले तराईको महेन्द्र राजमार्गमा मोटर कुदाउँदा एक घण्टामा औसत ६० किलोमिटर जति दुद्छ भने पहाडका राजमार्गमा त्यो रफ्तार आधा हुन्छ र औसत ३० किलोमिटर प्रतिघण्टामा झर्छ । पृथ्वीले यो ३० किलोमिटरको यात्रा केवल १ सेकेन्डमै पुरा गर्छ । हामीले १ घन्टामा गाडी कुदाउने जति बाटो १ सेकेन्डमा कुद्ने भनेपछि धर्तिको गति कति तीव्र होला ?

तपाइँले यो एउटा वाक्य पठिसक्दामात्रै पृथ्वीले सूर्यको चक्कर लगाउने क्रममा १०० देखि १५० किलोमिटरको यात्रा पार गरिसकेको छ । तर यो गति पनि समान चाहीँ हुँदैन । पृथ्वी सूर्यको नजिक हुँदा यसको गति अलि तीव्र हुन्छ । सूर्य र पृथ्वीको दूरी बढ्दै जाँदा धर्तिको कुद्ने गति पनि मन्द हुनथाल्छ ।

यिनै कारणहरुले गणितलाई प्रभावित पार्छ, जुन भिन्दाभिन्दै गणितीय सूत्रहरु पक्डिएर हाम्रा पात्राहरु बनेका छन् ।

पात्रोको परिचय

संसारमा सयौं किसिमका पात्रोहरु छन् । तर राष्ट्रिय मान्यता पाएका पात्रोहरुको संख्या कम छ । संसारका धेरै देशले ग्रिगोरियन क्यालेन्डरलाई नै राष्ट्रिय मान्यता दिएका छन् । नेपालमा विक्रम संवत्, भारतमा शक संवत् प्रचलनमा छन् । इरान र अफगानिस्तानले हिजरी क्यालेण्डर चलाउँछन् । इजरायलले हिब्रु क्यालेन्डर पनि बराबर मात्रामा चलाउँछ । थाइल्याण्डले थाई बौद्ध क्यालेन्डरलाई मान्यता दिएको छ । इथियोपियाले पनि आफ्नै क्यालेन्डर चलाउँछ । उत्तर कोरियाले जुचे क्यालेन्डर चलाउँछ ।

यसबाहेक धार्मिक र सांस्कृतिक पात्रोहरु पनि प्रचलनमा छन् । साउदी अरब लगायत इस्लामिक राष्ट्रहरुले हिजरी क्यालेण्डरलाई चार्डपर्व र धार्मिक विदाका लागि प्रयोग गर्छ । चीन, भियतनाम, कोरियाजस्ता ठाउँमा चिनियाँ पात्रो सांस्कृतिक रुपमा प्रयोग हुन्छ । अर्थोडक्स इसाई चर्चहरूले अझै पनि जुलियन क्यालेन्डरलाई पच्छ्याउँछन् । हाम्रो नेपाल संवत् पनि सांस्कृतिक पात्रो नै हो ।

गणनाका आधारमा पनि पात्रोहरुको भिन्नता छ । ईश्वी संवत् र शक संवत् जस्ता कयौँ पात्रोहरु सौर्य गणना (सूर्यको गति)मा आधारित छन् । हिजरी संवतजस्ता पात्रोहरु चान्द्र गणना (चन्द्रमाको कला)मा आधारित छन् । कतिपय पात्रोहरु (सौर्य–चान्द्र) गणनामा आधारित छन् । यस्ता पात्रोले सूर्यको गति र चन्द्रमाको कला दुबैलाई गणना गर्छन् । विक्रम संवत्, नेपाल संवत् र चिनियाँ पात्रो यही विधीबाट गणना हुन्छ ।

पात्रोको आयु पनि भिन्न भिन्न हुन्छन् । हिन्दुहरुले खगोल विज्ञानमा आधारित भएर चलाएको कलियुग संवत संसारको प्राचीन संवत्हरुमध्ये एक हो । यो ५१०० वर्षभन्दा पनि पुरानो छ । इजरायल र यहूदी समुदायमा धार्मिक प्रयोजनका लागि प्रयोग हुने हिब्रू क्यालेन्डर त झण्डै ५८०० वर्ष पुरानो मानिन्छ ।

चीन र पूर्वी एसियामा चाडपर्व (नयाँ वर्ष) मनाउन प्रयोग हुने चिनियाँ पात्रो पनि ४७०० वर्षभन्दा पुरानो छ । यस्तै पुरानो अर्को पात्रो चाहीँ माया पात्रो पनि हो । प्राचीन माया सभ्यताको गणना गर्न शोधकर्ताहरूले यो क्यालेन्डरलाई पछ्याउँछन्। उक्त क्यालेन्डरले यो समयलाई ‘१३ बाक्तुन, ० कातुन, १३ तुन, ८ उइनाल र १ किन’ (१३.०.१३.८.१) वितिसकेको भन्छ । यो भनेको करीब ५१३८ वर्ष, ७ महिना र १२ दिन हुन आउँछ।

भगवान बुद्धको महापरिनिर्वाणको मितिलाई आधार मानेर तयार पारिएको बौद्ध क्यालेन्डर थाइल्याण्ड, लाओस, कम्बोडिया र श्रीलंकामा आधिकारिक छ । यो क्यालेन्डर पनि नेपालको विक्रम संवतसँग लगभग मिल्छ । यसले पनि वैशाख १ लाई नै नयाँ वर्ष मनाउँछ । तर देश अनुसारका भाषामा महिनाका भिन्न नामहरु दिइएका हुन्छन् । यो क्यालेन्डरमा वैशाख संक्रान्तिसँगै संवत् २५७० शुरु भएको छ ।

यही नयाँ वर्षलाई श्रीलङ्कामा ‘अलुथ अबुरुद्दा’, ‘लाओसमा पि माई’, कम्बोडियामा ‘चोल च्नाम थमे’, बर्मामा ‘थिन्ज्ञान’ र थाइल्याण्डमा ‘सङ्क्रान’ भनेर मनाइन्छ । बर्मामा राजा पोपा सोराहानको पालामा पुरानो बौद्ध पात्रोको सापेक्ष नयाँ पात्रोको थालनी गरिएको थियो । त्यसैले त्यहाँ सासना वर्ष भनेर बौद्ध संवत् पनि मानिन्छ र म्यानमार इरा अनुसार १३८८ साल भएको छ ।

भियतनामले चाहीँ चिनियाँ चान्द्र पात्रो पच्छ्याउँछ, जसमा वर्षको नाम नै चरा, घोडा इत्यादि हुन्छन् ।

त्यस्तै, अहिले मुस्लिम समुदायको धार्मिक पात्रो (हिजरी संवत) १४४७ औँ वर्षमा छ । इरान र अफगानिस्तानमा प्रयोग हुने सौर्य–चान्द्र हिजरी पात्रो (इरानी क्यालेन्डर) १४०५ औँ वर्षमा छ । भारतको सरकारी कामकाजमा प्रयोग हुने (शक संवत) अनुसार अहिले १९४८ साल हो भने हाम्रो विक्रम संवत् अनुसार २०८३ साल सुरु भएको छ ।

व्रह्माण्डीय गणितका रोचक प्रसंग पढ्न रमाइलो लाग्छ भने यो पनि एउटा खुराक हुन सक्छ :

खगोलको गणित

यी पात्रोहरु सूर्य, चन्द्रमा जस्ता व्रह्माण्डीय पिण्डहरुको चालको गणना गरेर तयार पारिएका हुन् । त्यसमध्ये पनि हाम्रो क्यालेन्डर (विक्रम संवत्) व्रह्माण्डीय गणितको ठ्याक्कै पहिचान गर्ने संसारको सबैभन्दा वैज्ञानिक पात्रोमध्ये एक हो ।

यसले पृथ्वी र अनन्त आकाशका ताराहरु (नक्षत्र)का बीचमा एक विशाल काल्पनिक नक्सा बनाउँछ । त्यो नक्सामा सूर्य र चन्द्रमाको गति र अवस्थिति कहाँ छ भन्ने कुरालाई मसिनो गरी गणित गर्छ । ज्योतिष शास्त्रले सूर्य र चन्द्र बाहेकका ७ ग्रह (मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु, केतु) को गणना पनि त्यही काल्पनिक वृत्तको अवस्थिति र गतिलाई आधार मानेर गणना गर्छ ।

यो गणनामा हामी जहाँ छौँ (पृथ्वी) र अन्तरिक्षका स्थिर चिन्हहरु (नक्षत्र)लाई ‘अचल’ मानिन्छ । यसबीच तयार भएको वृत्तमा जुन ग्रह जहाँ छ, त्यसै अनुसारको गणना हुन्छ ।

स्रोत : https://www.theplanetstoday.com/hindu_astrology.html

अझ स्पष्ट भन्नुपर्दा मुस्लिमहरुले चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा पात्रो बनाएका छन् । ईश्वी संवत् चाहीँ सौर्य पद्धतिबाट गणना हुन्छ । तर विक्रम संवत् यी दुबैलाई गणना गर्छ । अनि यसको गणित उनीहरुभन्दा भिन्न छ । विक्रम संवतले सूर्य र चन्द्रमा दुबैलाई ताराहरुको सापेक्षमा राखेर गणना गर्छ ।

तपाइँ कल्पना गर्नुस्– पृथ्वी र एउटा कुनै तारा (जस्तै मेष)बीच एउटा सीधा रेखा तानिदिएको छ । अब त्यो रेखामा सूर्य प्रवेश गरेको दिनलाई वैशाख सक्रान्ति भनिन्छ । यी सबै पात्रोले पृथ्वीबाट हेर्दा सूर्य र चन्द्रमाको स्थिति कहाँ छ भनेर नै गणना गर्छन् । हामीले पनि धर्तिबाट हेर्दा सूर्यलाई जुन ताराको नजिक देखिन्छ, त्यही महिना भनेर मानिन्छ । यो नक्षत्र गणना पद्धति हो ।

ग्रिगोरियनहरुले मौसमी गणना पद्धतिलाई पच्छ्याउँछन् । उनीहरुले पृथ्वीको भूमध्ये रेखाको ठीक माथितिर सूर्य आइपुगेको दिनलाई ‘न्यू इयर’ मनाउँछन् । सूर्यले भूमध्येरेखाको त्यही विन्दुमा पुन: प्रवेश गर्न अर्को एक वर्ष लाग्छ । त्यस आधारमा उनीहरुले वर्षको गणना गर्छन् ।

तर यहीँनेर रोचक भिन्नता पनि पाइन्छ । पृथ्वीले सूर्यलाई पुरै एक फन्को लगाउने समय र भूमध्ये रेखाको ठ्याक्कै माथितिर सूर्य आइपुग्ने समयमा थोरै फरक पर्छ । धर्तिले करीब ९४ करोड किलोमिटर पार गरेर एक वर्ष समय गुजार्छ । तर पृथ्वीको ढल्काइ (झुकाव)ले यहाँ खेल खेल्छ ।

पृथ्वीले आफ्नो कक्षमा फन्कोमार्दा घडीको सुईको उल्टो दिसामा घुम्छ । तर भुरुङको टाउको जस्तो पृथ्वीको उत्तरी ध्रुव भने विस्तारै घडीको सुई घुमेको दिसातर्फ सर्दै जान्छ । यो गति असाध्यै सुस्त हुने भए पनि पृथ्वीले ३६० डिग्रीको एक चक्कर पुरा गर्नुभन्दा केही बेर अघि नै भूमध्येरेखाको माथितिर सूर्य आइसक्छ । यो कारणले सौर्य गणनामा एक वर्षको मतलव ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.२ सेकेन्ड हुन्छ । तर नक्षेत्र वर्षमा त्यो एक वर्ष भनेको ३६५ दिन ६ घण्टा ९ मिनेट ९.५ सेकेन्ड हुन्छ ।

यी दुई गणनाबीच एक वर्षमा २० मिनेट २४.३ सेकेन्डको फरक पर्छ । अर्थात् ईश्वी संवतको वर्षभन्दा विक्रम संवतको वर्ष २० मिनेट २४ सेकेन्ड लामो हुन्छ । दुई चार वर्षमा त यसको असर देखिँदैन । तर करीब ७२ वर्ष (७१.६ वर्ष)मा पुग्दा यो २० मिनेट जोडिँदै गएर एक दिनको अन्तर देखिन्छ ।

त्यसैले आजभन्दा २०२६ वर्ष अघि ईश्वी संवत् सुरु हुँदा वैशाख १ गते (साल ५७) भनेको मार्चको १६ तारिखतिर पथ्र्यो । अहिले अप्रिल १४ मा पर्छ । अबको २ हजार वर्ष पछि सन् ४००० मा पुग्दा वैशाख १ भनेको मे महिनाको ११ तारिखतिर पर्नसक्छ ।

त्यसैले ऋतु चक्रमा आधारित ईश्वी संवत् र नक्षर वर्षमा आधारित विक्रम संवत् बीचको यो अन्तर गणना गर्ने पद्धति वा अवधारणालाई ‘अयनचलन’ भनिन्छ । यसरी पृथ्वीमा ऋतु परिवर्तन हुने समय चक्रलाई ईश्वीको क्यालेन्डर वा शक संवतले राम्रोसँग गणना गर्छ । अबको १० हजार वर्ष पछि पनि जनवरी १ भनेपछि जाडो यामको मध्येतिर नै आउँछ ।

तर विक्रम संवतले ऋतु र मौसमलाई होइन, व्रह्माण्डमा खगोलीय पिण्डहरुको वास्तविक अवस्थितिलाई गणना गर्छ । त्यसैले अबको १० हजार वर्ष पछि पनि वैशाख १ गते सूर्य ठ्याक्कै मेष ताराको अगाडी पुगेको हुने छ । तर सूर्य मेष राशीमा पुग्दा अहिलेको वैशाखजस्तो गर्मी १० हजार वर्षपछि हुने छैन ।

अनि जनवरी १ को चिसो मौसममा सूर्य भने अहिलेजस्तो धनु राशी (तारा)को नजिक हुने छैन । त्यतिबेला सूर्य धनु राशी (पुस महिना)मा पुग्दा ग्रिगोरियन क्यालेन्डरमा सायद अप्रिल–मे महिना चलिरहेको हुने छ ।

एकै दिन दुई नयाँ वर्ष ?

अब हामी शुरुको मूल प्रश्नमा जाऊँ । वैशाख १ र जनवरी १ एकै दिन कहिले पर्ला ? उत्तरी ध्रुवको झुकावका कारण धर्तिको मौसम र अन्तरिक्षको अवस्थिति ठ्याकै उही स्थितिमा फर्किन करीब २५,७७६ वर्ष लाग्छ ।

त्यसैले आजभन्दा ७२०० देखि ७३०० वर्ष अघि (सायद ईशा पूर्व ५२६० तिर) जनवरी १ र वैशाख १ एकै दिन परेको हुँदो हो । अब त्यही स्थिति आउन १८,४९० वर्ष कुर्नुपर्ने हुनसक्छ ।

तथापि, त्यतिञ्जेलसम्म आजको पात्रो र गणना गर्ने विधि समान नहुन सक्छन् । तर यही गणितीय रुपमा यी दुबै नयाँ वर्षहरु एकै दिन मनाउन सम्भव थियो र हुने छ ।


प्रतिक्रिया दिनुहोस्