इरानका लेगो भिडियोहरूले ट्रम्प विरुद्धको ‘न्यारेटिभ वार’ कसरी जिते ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इरानका लेगो भिडियोहरूले ट्रम्प विरुद्धको ‘न्यारेटिभ वार’ कसरी जिते ?



अमेरिका र इजरायलसँगको युद्धमा आफ्नो पक्ष बलियो पार्न इरानले लगाएका अनेकौँ जुक्तिहरुमध्ये प्रोपोगाण्डाहरु पनि हुन् । यस्तो प्रोपोगाण्डाका लागि अचेल बच्चाका खेलौनाजस्तो देखिने एआई भिडियोहरु खुब प्रयोग भएका छन् । साना–साना प्लास्टिकका ब्लक वा इँटाजस्ता टुक्राहरूबाट तयार पारिने खेलौनाको सेट (यसलाई ‘लेगो’ भन्छि)को डिजिटल प्रयोग खुब बढेको छ ।

यो कुनै सामान्य लेगो सेट होइन।

भिडियोको सुरुमा एक रैथाने अमेरिकी प्रमुख आफ्नो घोडा चढेर चन्द्रमाको प्रकाशमा नुहाएको उजाड भूमिका देखिन्छन्। त्यसपछि एनिमेटेड दृश्यहरू द्रुत गतिमा परिवर्तन हुन्छन्, जहाँ अमेरिकी सरकारबाट पीडित भएका विभिन्न मानिसहरूको झलक देखाइन्छ- साङ्लोमा बाँधिएका काला जातिका अमेरिकीदेखि इराकको कुख्यात अबु गरीब जेलभित्र सकसपूर्ण जीवन बाँचिरहेका व्यक्तिहरू सम्म।

पृष्ठभूमिमा बजिरहेको संगीतको ताल तातेसँगै दृश्यमा इरानी सैनिकहरू मिसाइलहरूमा ठूला ब्यानर टाँसिरहेको देखिन्छ। पहिलो मिसाइलमा लेखिएको छ, “लुटिएका काला जातिहरूका लागि।” अर्कोमा लेखिएको छ, “हिरोसिमा र नागासाकीका मानिसहरूका लागि।”

त्यसैगरी अर्को मिसाइलमा सन् १९८८ मा अमेरिकी क्षेप्यास्त्रद्वारा खसालिएको इरानी यात्रुवाहक विमानलाई स्मरण गर्दै लेखिएको छ, “इरान एयर फ्लाइट ६५५ का पीडितहरूको सम्झनामा।” सन् २००३ मा गाजामा इजरायली बुलडोजरले किचेर मारिएकी अमेरिकी अभियन्ता रेचेल कोरीको नाम पनि त्यहाँ कोरिएको छ।

अफगानिस्तान, भियतनाम र इराकमा भएका अमेरिकी युद्धका पीडितहरू र “एपस्टीन टापुका बालबालिका” का लागि समेत यस्तै सन्देशहरू मिसाइलमा टाँसिएका छन्। भिडियोको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका विशाल सालिकहरू ढलेको देखाइन्छ र पर्दामा ठूला सेता अक्षरमा लेखिन्छ: ‘सबैका लागि एक प्रतिशोध’ (ONE VENGEANCE FOR ALL)।

मार्च २९ मा सार्वजनिक गरिएको यो भिडियो ‘एक्सप्लोसिभ मिडिया’ द्वारा जारी गरिएका धेरै भिडियोहरू मध्ये एक हो। इरानमा रहेका यस्ता धेरै समूहहरूले विश्वभरका घर-घरमा परिचित लेगोका आकृति र ब्लकहरू प्रयोग गरेर सामाजिक सञ्जालमा भाइरल ट्रेन्ड सिर्जना गरिरहेका छन्। यसले अमेरिका र इजरायल विरुद्धको युद्धमा तेहरानको भाष्यलाई बलियो बनाउन मद्दत गरिरहेको छ।

अमेरिकी आक्रामक नीति र घरेलु अपराधका पीडितहरूलाई चित्रण गरिएको यो भिडियो ‘एक्स’ मा झण्डै १ लाख ५० हजार पटक हेरिएको छ। एक्सप्लोसिभ मिडियाको युट्युब च्यानललाई हालै गुगलले हिंसा प्रवर्द्धन गरेको आरोपमा हटाइदिएको छ। तर ट्रम्पलाई व्यङ्ग्य गर्न विशेष गीत र र्‍याप बिट प्रयोग गर्ने यो समूह पछि हट्ने पक्षमा छैन।

आफ्नो नाम गोप्य राख्न चाहने एक्सप्लोसिभ मिडियाका एक प्रतिनिधिले भने, “हाम्रो युट्युब च्यानल हिंसा प्रवर्द्धन गरेको आधारमा बन्द गरियो । तर हामी विश्वस्त छौं कि लेगो जस्ता एनिमेसनहरू कत्ति पनि हिंस्रक हुँदैनन्।” उनले थपे, “यसमा निराशा त थियो तर अचम्म भने लागेन- यो कथा नयाँ होइन। पश्चिमाहरूले कसरी सत्यलाई मौनतामा बेर्छन् र त्यसलाई बोल्ने हरेक आवाजलाई दबाउन खोज्छन् भन्ने हामीलाई राम्ररी थाहा छ।”

यी भिडियोहरू शिया मुस्लिम इतिहासको गम्भीर चिन्तनदेखि आधुनिक र्‍याप शैलीका संगीतसम्म फैलिएका छन्। एक्सप्लोसिभ मिडियाका प्रवक्ताका अनुसार एनिमेसनमा प्रयोग गरिएको हरियो र रातो रङ प्रतीकात्मक छ। हरियो रङले पैगम्बर मोहम्मदका नाति हुसेन र अन्याय विरुद्धको उनको लडाइँलाई प्रतिनिधित्व गर्छ भने रातो रङले दमनकारीलाई जनाउँछ।

भिडियोहरूमा “एपस्टीन शासन” र “लुजर” (असफल) जस्ता शब्दहरू प्रयोग गरिएका छन्। कतिपय दृश्यमा ट्रम्पका समर्थकहरूले ‘मागा’ लेखिएको रातो टोपी लगाएको देखाइन्छ। मागा भनेको ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ भन्ने डोनाल्ड ट्रम्पको राजनीतिक नारा ‘मेक अमेरिका ग्रेट अगेन’को संक्षिप्त रुप हो ।

भिडियोमा ट्रम्पले अमेरिकालाई नयाँ युद्धहरूबाट बाहिर राख्ने र श्रमजीवी वर्गलाई सहयोग गर्ने वाचा गरेको देखाइन्छ, तर पछि उनकै शब्दहरू प्रयोग गरेर उनले अमेरिकी हित भन्दा इजरायली मागलाई प्राथमिकता दिएर धोका दिएको आरोप लगाइएको छ।

“लुजर हाम्रा उत्कृष्ट सिर्जनाहरू मध्ये एक हो,” समूहका प्रवक्ताले भने। “ट्रम्पले आफ्ना विपक्षीहरूलाई प्रायः यही शब्दले सम्बोधन गर्छन्। त्यसैले हामीले यसलाई उल्ट्याइदियौं र अन्त्यमा उनी नै सबैभन्दा ठूलो ‘लुजर’ हुन् भनेर देखायौं।”

यो समूहमा १० जना सदस्य छन्, जो १९ देखि २५ वर्ष उमेर समूहका छन्। यद्यपि इरान सरकारले आफ्ना नागरिकका लागि अमेरिकी सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ, तर यी युवा सर्जकहरूको इन्टरनेट र तिनै प्लेटफर्महरूमा सहज पहुँच देखिन्छ।

प्रवक्ताका अनुसार इरानी सरकारी सञ्चारमाध्यमहरू उनीहरूका ग्राहक हुन्, तर समूह आफैंमा स्वतन्त्र छ। उनले भने, “हामी उच्च गुणस्तरको सामग्री बनाउँछौं, त्यसैले सरकारी सम्बद्ध निकायहरूले प्रसारणका लागि हाम्रा कामहरू खरिद गर्नु स्वाभाविक हो। हामी पहिले सामग्री बनाउँछौं र गुणस्तर राम्रो भएमा सञ्चार संस्थाहरूले हामीबाट खरिद गर्छन्। यसरी हाम्रो स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहन्छ।”

यो शैली इरानमा मात्र सीमित छैन। ‘पर्शियाब्वाई’ र ‘सदर्न पंक’ जस्ता अन्य सर्जकहरूले पनि यस्तै भिडियोहरू बनाइरहेका छन्। यो लहर पाकिस्तानसम्म पनि पुगेको छ।

इस्लामाबादस्थित सामाजिक विश्लेषक फासी जाका भन्छन्, “यी भिडियोहरू दशकौंदेखि पश्चिमा सञ्चारमाध्यमले इरान विरुद्ध बनाएको सूचनाको पर्खाल तोड्ने माध्यम बनेका छन्।” जाकाका अनुसार अमेरिकी राजनीतिभित्रका कमजोरीहरू, जस्तै एपस्टीन फाइलहरूलाई लक्षित गर्नु निकै चलाखीपूर्ण कदम हो।

उनी थप्छन्, “यसलाई उनीहरूले ‘एपस्टीन शासन’ भनिरहेका छन्, जुन अमेरिकाको आन्तरिक दरार हो। उनीहरूले ट्रम्पको चुनावी नारा र इजरायलप्रतिको उनको झुकावलाई पनि यसरी प्रस्तुत गरेका छन् कि यो हेर्दा रमाइलो लाग्छ तर वास्तवमा यो अत्यन्तै बुद्धिमानीपूर्ण छ।”

मिडिया एनालिटिक्समा अनुसन्धान गरिरहेका कतारस्थित नर्थवेस्टर्न युनिभर्सिटीका प्रोफेसर मार्क ओवेन जोन्स भन्छन् कि यो इरानको रणनीतिको महत्वपूर्ण हिस्सा हो। उनका अनुसार इरानले सैन्य रूपमा अमेरिकालाई जित्न सक्दैन, त्यसैले जनमतलाई आफ्नो पक्षमा पारेर अमेरिकामाथि दबाब सिर्जना गर्नु नै उसको सफलताको उत्तम उपाय हो।

जोन्स भन्छन्, “आजको सञ्चारको युगमा यस्तो प्रकारको ‘ट्रोल प्रोपागान्डा’ ले नै युद्ध जित्छ। इरानी लेगो भिडियोहरू वास्तवमै राम्रो र विस्तृत छन्। यसमा एउटा स्पष्ट भाष्य छ, जबकि अमेरिकी प्रोपागान्डा त हलिउड फिल्मका विस्फोटका दृश्यहरू काटकुट गरेर बनाएको जस्तो मात्र देखिन्छ।”

यो सामग्री अलजजिरामा प्रकाशित ‘Vengeance for all’: How Iran’s Lego videos won narrative war against Trump शीर्षकको समाचारको अनौपचारिक अनुवाद हो ।


प्रतिक्रिया दिनुहोस्