नियुक्ति भएको १६ महिनामै सेवन अध्यक्ष श्रेष्ठले दिए राजीनामा
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रवार साँझ बोर्डको सञ्चालक समिति बैठक सकेर निस्किएका श्रेष्ठले अर्थमन्त्रालय पुगेर राजिनामा पत्र बुझाएको विश्वस्त स्रोतहरूले पुष्टि गरेका छन्।
शुक्रवार बसेको सञ्चालक समितिको बैठकमा अध्यक्ष श्रेष्ठले राजीनामाको सङ्केत गरेका थिए। त्यतिबेला उनी राजीनामा पत्र लिएर अर्थ मन्त्रालय जाने तयारी भएको एक कर्मचारीले बताएका थिए।
एक सातादेखि विभिन्न समूह र सरकारको दबाब खेपिरहेका कारण अध्यक्ष श्रेष्ठ राजीनामाको तयारी गरेका थिए ।
केपी ओली नेतृत्वको सरकारले धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठलाई २०८१ मङ्सिर १० गते नियुक्त गरेको थियो । झन्डै दुई तिहाइको सरकार आइसकेपछि यसअघिका सरकारले नियुक्त गरेका पदाधिकारीहरूलाई रास्वपा सभापति रवि लामिछानेले संसदको रोस्टबाटै राजीनामा दिएर मार्ग प्रशस्त गर्न अपिल गरेका थिए ।
सेवनमा धेरै नीतिगत सुधार गरेका श्रेष्ठलाई केही व्यावसायिक प्रतिष्ठानको निकट रहेर काम गरेको आरोप पनि लाग्दै आएको थियो ।
शुक्रवारको बोर्ड बैठकमा अध्यक्ष श्रेष्ठ पनि सहभागी रहेको बोर्ड बैठकमा सहभागी एकले अर्थपथलाई बताए ।
को बन्छ बोर्ड अध्यक्ष ?
निर्वाचन प्रश्चात रास्वपा नेतृत्वको नयाँ सरकार गठन भइसकेकाले अबको अध्यक्ष नयाँ सरकारकै पोल्टामा जाने निश्चित छ ।
बोर्ड अध्यक्ष नियुक्त गर्न कानुनी प्रक्रिया पुरा गर्नुपर्ने भएकाले केही समयको लागी धितोपत्र ऐनमै भएको व्यवस्था अनुसार अर्थ मन्त्रालयको प्रतिनिधिले अध्यक्षता गर्ने उल्लेख छ ।
सोही व्यवस्था अनुसार अर्थ मन्त्रालयबाट हाल प्रतिनिधिको रूपमा रहेका सहसचिव उत्तर कुमार खत्री नै केही समयको लागी बोर्डको अध्यक्षता गर्नेछन् ।
त्यसपछि सरकारले मै अध्यक्ष नियुक्तिको प्रक्रिया थाल्न सक्ने छ।
















