रास्वपाको महामन्त्रीमा भूपदेव साह, यस्तो बन्यो १६ सदस्यीय सचिवालय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रास्वपाको महामन्त्रीमा भूपदेव साह, यस्तो बन्यो १६ सदस्यीय सचिवालय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई थप सुदृढ बनाउँदै सचिवालयको आकार विस्तार गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई अनुमोदन गर्दै साविकको १४ सदस्यीय सचिवालयमा दुई जना नयाँ सदस्य थप गरी कुल संख्या १६ पुर्‍याएको हो । यस नयाँ विस्तारसँगै पार्टीको सचिवालयमा समावेशी र युवा नेतृत्वको सहभागितालाई प्राथमिकता दिइएको देखिन्छ ।

प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले सार्वजनिक रुपमा चर्चामा रहेका अभियन्ता सागर ढकाल र नेतृ सरिता श्री ज्ञवालीलाई सचिवालयमा समावेश गर्ने प्रस्ताव राखेका थिए । जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

विस्तारित सचिवालयमा भूपदेव साह र कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको छ । पार्टीको उच्च तहमा सभापति लामिछानेसँगै उपसभापतिमा डा. स्वर्णिम वाग्ले रहेका छन् । त्यसैगरी, संगठनको आन्तरिक व्यवस्थापन र सञ्चालनका लागि सहमहामन्त्रीमा विपिन आचार्य, कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा वसु माया तामाङलाई जिम्मेवारी दिइएको छ । पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने र सञ्चार समन्वय गर्ने महत्वपूर्ण भूमिकामा मनिष झालाई प्रवक्ताकै रुपमा निरन्तरता दिइएको छ ।

सचिवालयका अन्य सदस्यहरूमा पार्टीका प्रभावशाली नेताहरू र सांसदहरूको बाहुल्यता रहेको छ । जसमा गणेश पराजुली, दिपक बोहरा, विराज भक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल रहेका छने । भर्खरै थपिएका नयाँ सदस्यहरू सागर ढकाल र सरिता श्री ज्ञवालीले पनि सचिवालय सदस्यकै रुपमा पार्टीको केन्द्रीय नीति निर्माण र कार्यान्वयनमा सक्रिय भूमिका खेल्नेछन् ।

यसरी गठित १६ सदस्यीय शक्तिशाली सचिवालयले आगामी दिनमा रास्वपाको राजनीतिक कार्यदिशा र संगठन विस्तारका कार्यहरूलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्