टिम कुकले त्यागे एप्पलको सिइओ पद, सेप्टेम्बर १ देखि जोन टर्नसले नेतृत्व सम्हाल्ने
काठमाडाैं । विश्वविख्यात प्रविधि कम्पनी एप्पलले जोन टर्नसलाई आफ्नो आगामी मुख्य कार्यकारी अधिकृत (सिइओ) घोषणा गरेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण विश्व प्रविधि जगतमा ठूलो परिवर्तन भइरहेको समयमा आइफोन निर्माता कम्पनीले नयाँ नेतृत्व पाउन लागेको हो।
सोमबार गरिएको घोषणा अनुसार, वर्तमान सिइओ ६५ वर्षीय टिम कुकले पद त्याग्ने निर्णय गरेसँगै आगामी सेप्टेम्बर १ देखि टर्नसले उक्त जिम्मेवारी सम्हाल्नेछन्। टिम कुक भने कार्यकारी अध्यक्ष (एक्जुकेटिभ चेयरम्यान) को नयाँ भूमिकामा सर्नेछन्।
एप्पलले आफ्नो आन्तरिक नेतृत्वलाई नै अगाडि बढाउने परम्परालाई निरन्तरता दिँदै टर्नसलाई छानेको हो। सन् २०११ देखि कम्पनीको नेतृत्व गर्दै आएका कुकले अब कार्यकारी अध्यक्षका रूपमा नीति निर्माताहरूसँगको संवाद र रणनीतिक योजनाहरूमा कम्पनीलाई सहयोग गरिरहनेछन्। ५० वर्षीय टर्नस विगत दुई दशकभन्दा बढी समयदेखि एप्पलमा कार्यरत छन्। उनले सन् २००१ मा उत्पादन डिजाइन टोलीबाट आफ्नो यात्रा सुरु गरेका थिए।
टर्नसको व्यावसायिक यात्रा निकै प्रभावशाली रहेको छ। सन् २०१३ मा हार्डवेयर इन्जिनियरिङको उपाध्यक्ष र २०२१ मा वरिष्ठ उपाध्यक्ष बनेका उनले आइफोन, आइप्याड, म्याक, एप्पल वाच र एयरपड्स जस्ता प्रमुख उत्पादनहरूको इन्जिनियरिङ विभागको नेतृत्व गरिसकेका छन्। उनको कार्यकालमा एप्पलले म्याक कम्प्युटरहरूमा आफ्नै डिजाइनका चिपहरू प्रयोग गर्न सुरु गरेको थियो, जसले कार्यक्षमता र ब्याट्री क्षमतामा ठूलो सुधार ल्यायो। उनकै नेतृत्वमा आइफोन एयर र म्याकबुक नियो जस्ता नयाँ उत्पादनहरू बजारमा आएका हुन्।
प्रविधिका अतिरिक्त टर्नसले वातावरण संरक्षण र उत्पादनहरूको टिकाउपनमा पनि विशेष ध्यान दिँदै आएका छन्। उनको दर्शन प्रविधिलाई मात्र प्राथमिकता दिने भन्दा पनि त्यसको सही प्रयोग गरेर उत्कृष्ट उत्पादन बनाउने भन्ने रहेको छ। यद्यपि, नयाँ सिइओका रूपमा उनका सामु एआईको क्षेत्रमा एप्पललाई अगाडि बढाउने मुख्य चुनौती छ। हालैका दिनहरूमा गुगल, माइक्रोसफ्ट र एनभिडिया जस्ता कम्पनीहरूले एआईमा मारेको फड्कोका कारण एप्पलमाथि दबाब बढेको छ।
यसै चुनौतीलाई मध्यनजर गर्दै एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट ‘सिरी’ लाई थप स्मार्ट बनाउन गुगलको जेमिनाई एआईसँग साझेदारी गर्ने कदम चालिसकेको छ। टर्नसले अब एप्पललाई एआईमा मात्र नभई फोल्डेबल फोन र एआर ग्लास जस्ता नयाँ श्रेणीका उत्पादनहरूमा पनि प्रतिस्पर्धी बनाउनुपर्नेछ। टिम कुकको नेतृत्वमा एप्पलको बजार मूल्य करिब २० गुणाले बढेको थियो, जसले टर्नसका लागि सफल विरासत पछ्याउनुपर्ने दायित्व थपिदिएको छ।
नेतृत्व परिवर्तनसँगै एप्पलको बोर्डमा पनि केही हेरफेर हुनेछ। जोनी श्रौजीलाई मुख्य हार्डवेयर अधिकृत (चीफ हार्डवेयर अफिसर) को जिम्मेवारी दिइएको छ। आफ्नो नयाँ जिम्मेवारीबारे टर्नसले एप्पलको ५० वर्षको भिजन र मूल्य मान्यतालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।













