युद्धविरामकाे समयसीमा सकिनै लाग्दा अमेरिका–इरान वार्ता अन्यौलमा, धम्कीको छायामा कुनै सम्झौता नगर्ने तेहरानको अडान
काठमाडौं । दुई हप्ता लामो युद्धविराम अन्त्यको समयसीमा नजिकिँदै गर्दा इरान र अमेरिकाबीच पाकिस्तानमा हुने भनिएको शान्ति वार्ता अनिश्चित बनेको छ। इरानले धम्कीको छाया मुनि बसेर कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेपछि कूटनीतिक प्रयासहरू अन्यौलमा परेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी नहटाउने अडान राखेका छन्। ट्रम्पले भनेका छन्, ‘उनीहरूले वार्ता गर्नैपर्छ, नत्र अकल्पनीय समस्या भोग्नुपर्नेछ। हामी इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन दिने छैनौँ, किनकि त्यसले विश्वकै विनाश निम्त्याउन सक्छ।’
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकाले निरन्तर युद्धविराम उल्लंघन गरेको र नाकाबन्दी कायम राखेको भन्दै यसलाई कूटनीतिक प्रक्रियाको मुख्य बाधा बताएका छन्। इरानका प्रमुख वार्ताकार मोहम्मद बाकेर कलिबाफले ट्रम्पले नाकाबन्दीमार्फत दबाब बढाएर आत्मसमर्पण गराउन खोजेको आरोप लगाउँदै धम्कीका आधारमा वार्ता नगर्ने स्पष्ट पारेका छन्।
इरानले आफ्नो नागरिक पूर्वाधारमा क्षति पुगे खाडी क्षेत्रका छिमेकी मुलुकका विद्युत र पानी प्रशोधन केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।
पछिल्लो समय अमेरिकी सेनाले इरानको बन्दर अब्बास जाँदै गरेको एउटा मालबहाक जहाज गोली प्रहार गरी नियन्त्रणमा लिएपछि तनाव झन् चुलिएको छ। इरानले यसलाई ‘सशस्त्र डकैती’ को संज्ञा दिएको छ भने चीनले पनि यस घटनाप्रति चिन्ता व्यक्त गर्दै कूटनीतिक समाधानका लागि आह्वान गरेको छ। नाकाबन्दी र सैन्य मुठभेडका कारण विश्व बजारमा तेलको मूल्य करिब ५ प्रतिशतले वृद्धि भइसकेको छ।
यता मध्यस्थकर्ता पाकिस्तानले भने इस्लामाबादमा २० हजार सुरक्षाकर्मी परिचालन गरी वार्ताको तयारी तीव्र पारेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान प्रस्थान गरिसकेको भनिए पनि उनी अझै अमेरिकामै रहेको बताइएको छ। बुधबार राति समाप्त हुने युद्धविराम अघि कुनै ठोस सहमति नभए खाडी क्षेत्रमा थप ठूलो सैन्य मुठभेड हुने जोखिम छ।
अर्कोतर्फ, लेबनान र इजरायलबीचको द्वन्द्व अन्त्यका लागि आगामी बिहीबार वासिङ्टन डिसीमा अर्को चरणको वार्ता हुने तय भएको छ।
यद्यपि, इजरायलले १० दिने युद्धविरामको उल्लंघन गर्दै दक्षिण लेबनानको ‘काकाइयत एल जिसर’ र ‘खियाम’ शहरमा बमबारी जारी राखेको छ। इजरायली आक्रमणमा त्यहाँ घरहरू ध्वस्त भएका छन् भने ६ जना घाइते भएका छन्। फेब्रुअरी २८ देखि सुरु भएको यो भीषण युद्धले हालसम्म हजारौँको ज्यान लिइसकेको छ।













