सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, भट्टको संयोजकत्वमा समिति गठन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, भट्टको संयोजकत्वमा समिति गठन



काठमाडौँ । सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार बोर्डको अध्यक्ष सिफारिस समितिको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलाई तोकिएको छ। समितिको सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल रहने छन्।

समितिले अध्यक्षका लागि इच्छुक योग्य उम्मेदवारहरूबाट आवेदन माग गरी व्यावसायिक कार्य योजना र अन्तर्वार्ताका आधारमा उपयुक्त नामहरू सरकारलाई सिफारिस गर्नेछ।

यसअघि, गत शुक्रवार बोर्डका कार्यकारी अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वर्तमान सरकारलाई नयाँ कार्यदिशा अनुसार अगाडि बढ्न सहयोग पुर्‍याउने उद्देश्यले आफूले मार्ग प्रशस्त गरेको उल्लेख गर्दै आफ्नो पदबाट राजीनामा दिएका थिए। श्रेष्ठ १० मङ्सिर २०८१ मा बोर्डको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएका थिए। अध्यक्षको राजीनामासँगै बोर्ड नेतृत्वविहीन बनेको छ।


प्रतिक्रिया दिनुहोस्