समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पायो नयाँ नेतृत्व, अध्यक्षमा डिल्लिराज आचार्य नियुक्त - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पायो नयाँ नेतृत्व, अध्यक्षमा डिल्लिराज आचार्य नियुक्त



काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त नेतृत्व चयन गर्दै अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा प्युठानका डिल्लिराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यस्तै समितिको सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय समेत गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकका निर्णय सार्वजनिक गर्दै समितिलाई पूर्णता दिइएको जानकारी दिए।

पछिल्लो समय मुलुकभरका दर्जनौँ सहकारीहरू समस्याग्रस्त घोषणा भई हजारौँ बचतकर्ताको अर्बौँ रकम जोखिममा परेको बेला सरकारले व्यवस्थापन समितिमा नयाँ टोली पठाएको हो।

नवनियुक्त टोलीले समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन गर्ने र बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्