बीमा कम्पनीको अद्यावधिक चुक्ता पुँजी, कुन कम्पनीको कति ? (सूचीसहित)
काठमाडौं । नेपाली बीमा बजार अहिले एक ऐतिहासिक संक्रमण र सुदृढीकरणको चरणबाट गुज्रिरहेको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको अद्यावधिक विवरणले बीमा कम्पनीहरूको वित्तीय जग झन् मजबुत बन्दै गएको स्पष्ट पारेको छ ।
’बीमा ऐन २०७९’ को कार्यान्वयन र प्राधिकरणको चुक्ता पूँजी वृद्धिको कडा नीतिका कारण अहिले बजारमा जीवन, निर्जीवन र लघुबीमा कम्पनीहरूको वित्तीय संरचनामा ठुलो फेरबदल आएको छ ।
प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जीवन बीमातर्फ १४ वटा कम्पनीहरूले बजारमा आफ्नो बलियो उपस्थिति जनाएका छन् । यस क्षेत्रमा सबैभन्दा धेरै चुक्ता पूँजी भएको कम्पनीका रूपमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ, जसको चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्र देखिए पनि यसको जगेडा कोष र अन्य प्राविधिक पक्षहरू फरक रहेका छन् ।
अन्य निजी कम्पनीहरूमा हिमालयन लाइफको ८ अर्ब १४ करोड ३२ लाख रुपैयाँ र नेशनल लाइफको ५ अर्ब ६१ करोड १६ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । धेरैजसो नयाँ जीवन बीमा कम्पनीहरूले ५ अर्ब रुपैयाँको पूँजीगत सीमालाई भेट्टाउने प्रयास गरिरहेका छन् ।
जसमा सूर्यज्योति लाइफ (५ अर्ब १ करोड ११ लाख), सानिमा रिलायन्स (५ अर्ब ७ करोड ४९ लाख) र प्रभु महालक्ष्मी (४ अर्ब ३० करोड ७७ लाख) प्रमुख छन् ।
निर्जीवन बीमा तर्फ पनि प्रतिस्पर्धा उत्तिकै रोचक छ । कुल १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजीसहित अग्रस्थानको दौडमा छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँ पूँजीले यो क्षेत्रमा ठुला कम्पनीहरूको वर्चस्व रहेको पुष्टि गर्छ ।
रोचक कुरा के छ भने दि ओरियन्टल र नेशनल इन्स्योरेन्स जस्ता विदेशी कम्पनीका शाखाहरूले भने ’एसाइन्ड क्यापिटल’ का रूपमा आफ्नो उपस्थिति जनाएका छन् । पछिल्लो समय मर्ज भएका आइजीआई प्रुडेन्सियल र युनाइटेड अजोडको पूँजी क्रमश: ३ अर्ब २ करोड ९३ लाख र २ अर्ब ४२ करोड ९० लाख रुपैयाँ पुग्नुले मर्जरको सकारात्मक प्रभाव देखिएको छ ।
नेपालको बीमा बजारलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने पुनर्बीमा क्षेत्रमा दुईवटा कम्पनीहरू क्रियाशील छन् । सरकारी लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रे) को चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार १०० रुपैयाँ रहेको छ भने निजी क्षेत्रको हिमालयन री इन्स्योरेन्सको १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुगेको छ । यी दुई कम्पनीको कूल २४ अर्बभन्दा बढीको पूँजीले नेपालबाट बाहिरिने विदेशी मुद्रा रोक्न ठुलो मद्दत पुग्ने देखिन्छ ।
बजारको सबैभन्दा तल्लो तहसम्म बीमा पहुँच पुर्याउने उद्देश्यले स्थापना भएका लघुबीमा कम्पनीहरू पनि अहिले धमाधम सञ्चालनमा आइरहेका छन् । ७ वटा लघुबीमा कम्पनीहरूमध्ये धेरैको चुक्ता पूँजी ५२ करोड ५० लाखदेखि ७५ करोड रुपैयाँको बीचमा छ । नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफको ७५–७५ करोड रुपैयाँ चुक्ता पूँजी छ भने लिबर्टी माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रोको समान ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
संघीय राजधानी बाहिर भरतपुर, विराटनगर, धनगढी, सुर्खेत र पोखरा जस्ता सहरमा मुख्य कार्यालय राखेर यी कम्पनीहरूले काम थाल्नुले बीमाको विकेन्द्रीकरण सुरु भएको संकेत गर्दछ ।














