इन्धन संकटले थलिए विश्वका ठूला एयरलाइन्स: ७४ प्रतिशतसम्म बढ्यो भाडा, कुन कम्पनीले कति घटाए उडान? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इन्धन संकटले थलिए विश्वका ठूला एयरलाइन्स: ७४ प्रतिशतसम्म बढ्यो भाडा, कुन कम्पनीले कति घटाए उडान?



काठमाडौँ । अमेरिका, इजरायल र इरानबीचको युद्ध ५४औँ दिनमा प्रवेश गर्दा विश्वको उड्डयन क्षेत्रले इतिहासकै कठिन चुनौतीको सामना गरिरहेको छ।

युद्धका कारण विमान इन्धनको आपूर्ति शृङ्खला पूर्ण रूपमा अवरुद्ध भएपछि विश्वका ठूला हवाई सेवा प्रदायकहरू इन्धनको चरम अभावसँग जुधिरहेका छन्।

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, एसियाली मुलुकहरूले विमान इन्धनको निर्यातमा प्रतिबन्ध लगाउन थालेपछि विश्वभरका कम्पनीहरूलाई आफ्ना पूर्वनिर्धारित उडानहरू सुचारु राख्न कठिन भइरहेको छ।

विश्वको करिब २० प्रतिशत विमान इन्धन ढुवानी हुने हर्मोज जलसन्धि युद्धका कारण ठप्प भएपछि कुवेत र बहराइन जस्ता प्रमुख निर्यातकहरूको उत्पादन बजारसम्म पुग्न सकेको छैन। केप्लर ऊर्जा परामर्शदाता संस्थाको तथ्याङ्कले देखाए अनुसार, युरोप जाने विमान इन्धनको दुई-तिहाइ हिस्सा यही मार्ग भएर जाने भएकाले त्यहाँका कम्पनीहरू सबैभन्दा बढी प्रभावित भएका हुन्।

दक्षिण कोरिया जस्ता प्रमुख प्रशोधन केन्द्रहरूले मध्यपूर्वी कच्चा तेलको अभावमा उत्पादन घटाउनुपरेको छ, जसले गर्दा हङकङको क्याथे प्यासिफिकले आफ्ना अन्तर्राष्ट्रिय उडानहरूमा १५ प्रतिशत र सिङ्गापुर एयरलाइन्सले ७ प्रतिशतले कटौती गरिसकेका छन्।

युरोपेली आकाशमा पनि उस्तै संकट देखिएको छ। इन्धनको मूल्य वृद्धि र अभावलाई मध्यनजर गर्दै जर्मनीको लुफ्थान्साले आफ्ना मध्यम तथा लामो दुरीका उडानहरूमा १२ प्रतिशतले कटौती गरेको छ भने बेलायतको ब्रिटिस एयरवेजले १० प्रतिशत र एयर फ्रान्स-केएलएम समूहले ८ प्रतिशत उडान घटाउने निर्णय गरेका छन्।

डोयचे बैंकले सार्वजनिक गरेको बजार विश्लेषण अनुसार, इन्धनको अभावका कारण केही लोकप्रिय पर्यटकीय गन्तव्यहरूको हवाई भाडामा ७४ प्रतिशतसम्मको अप्रत्याशित वृद्धि देखिएको छ। विमान कम्पनीहरूको खर्चको ठूलो हिस्सा इन्धनले ओगट्ने भएकाले सस्तो मूल्यका टिकटहरू बजारबाट पूर्ण रूपमा हराउन थालेका छन्।

इन्धनको चर्को मूल्यले विशेष गरी सस्तो सेवा दिने विमान कम्पनीहरूलाई टाट पल्टिने अवस्थामा पुर्‍याएको छ। अमेरिकी सस्तो विमान सेवा स्पिरिट एयरलाइन्सले बढ्दो सञ्चालन खर्चका कारण कम्पनी नै बन्द हुन सक्ने चेतावनी दिएको छ।

फिच रेटिङ्सको विश्लेषण अनुसार, यदि यी साना कम्पनीहरू बजारबाट बाहिरिए भने प्रतिस्पर्धा कम भई बाँकी रहेका ठूला कम्पनीहरूले भाडा अझै बढाउने जोखिम रहन्छ।

यता अमेरिका तेल उत्पादनमा आत्मनिर्भर भए तापनि विश्वव्यापी बजारमा इन्धनको मूल्य आकाशिँदा त्यहाँका ठूला कम्पनीहरूले समेत अर्बौँ डलर अतिरिक्त व्ययभार बेहोर्नुपरेको छ।

युद्ध आजै रोकिए पनि हवाई क्षेत्र सामान्य अवस्थामा फर्कन कम्तीमा एक वर्ष लाग्ने देखिएको छ। इन्धन उत्पादन केन्द्रहरूको मर्मत र ढुवानी प्रणाली पुनः स्थापित गर्न लामो समय लाग्ने र यसले गर्दा यो वर्षको गर्मी यामभरि यात्रुहरूले महँगो भाडा र उडान अनिश्चितताको सामना गरिरहनुपर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

हाल विश्वभरका विमान सेवा प्रदायकहरूले घाटा कम गर्न कम नाफामूलक रुटहरू बन्द गरिरहेका छन्, जसले गर्दा विश्वभरको हवाई पहुँच र सम्पर्कमा समेत गम्भीर नकारात्मक असर परिरहेको छ।


प्रतिक्रिया दिनुहोस्