काठमाडौँदेखि बेइजिङसम्म वायु प्रदूषणको कहर: कुन सहर कति प्रदूषित? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

काठमाडौँदेखि बेइजिङसम्म वायु प्रदूषणको कहर: कुन सहर कति प्रदूषित?



काठमाडौँ । नेपालको राजधानी काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरहरूको अग्रपंक्तिमा उक्लिएको छ। बिहीबार बिहानको वायु गुणस्तर मापन सूचकाङ्क (एक्यूआई) अनुसार काठमाडौँ २१६ अङ्कका साथ विश्वको दोस्रो धेरै प्रदूषित सहर बनेको हाे।

अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’ को पछिल्लो तथ्याङ्कले काठमाडौँको आकाशमा प्रदूषणको तह ‘अति अस्वस्थकर’ श्रेणीमा पुगेको देखाएको छ, जसले आम सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ।

वायु प्रदूषणको यो विश्वव्यापी सूचीमा पाकिस्तानको लाहोर सहर सबैभन्दा खराब अवस्थामा छ। लाहोर ३८२ एक्यूआईसहित पहिलो स्थानमा छ, जुन ‘खतरनाक’ तहको नजिक मानिन्छ। काठमाडौँपछि थाइल्याण्डको चियाङ माई १६५ एक्यूआईका साथ तेस्रो स्थानमा छ। यस्तै, चीनको बेइजिङ र इन्डोनेसियाको जकार्ता समान १३७ एक्यूआईका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन्। यी सहरहरूको वायु गुणस्तर पनि संवेदनशील समूहका लागि निकै घातक मानिन्छ।

प्रदूषित सहरहरूको १०औँ स्थानसम्मको सूची हेर्दा छैटौँमा अल्जेरियाको अल्जियर्स (१३४), सातौँमा बंगलादेशको ढाका (१२८), आठौँमा भारतको कोलकाता (१२७), नवौँमा भारतकै दिल्ली (१०९) र दशौँ स्थानमा इथियोपियाको अदिस अबाबा (९७) रहेका छन्। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार २०१ देखि ३०० सम्मको एक्यूआईलाई ‘अति अस्वस्थकर’ मानिन्छ भने ३०० भन्दा माथिलाई ‘घातक’ श्रेणीमा राखिन्छ। १०९ देखि माथिको प्रदूषण बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीका लागि निकै कष्टकर हुने गर्दछ।

वातावरण विभागका अनुसार काठमाडौँ उपत्यका मात्र नभई भक्तपुर, दाङको देउखुरी र सुर्खेत लगायतका क्षेत्रमा पनि वायुको अवस्था चिन्ताजनक छ। वायुमण्डलमा थुप्रिएको धुलोका कण र धुवाँका कारण सर्वसाधारणलाई घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न र अत्यावश्यक कामबाहेक बाहिर नजान जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्