निर्जीवन बीमा कम्पनीको ९ महिनाको व्यापार: एग्रेसिभ देखिए हिमालयन र एनएलजी
काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको वित्तीय सूचकले केही कम्पनीहरु आक्रामक विस्तारमा होमिएकै बेला केहीले भने व्यावसायिक विस्तार कमजोर देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको मासिक तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कको हरहिसाबले यस्तो चित्र देखाएको हो । चैत महिनासम्मको आँकडाका आधारमा हिसाब गर्दा यस्तो देखिएको छ ।
पोहोर चैतको तुलनामा गत चैतसम्ममा अर्थात् वितेको एक वर्षमा बीमा आधा संख्यामा रहेका बीमा कम्पनीहरुको व्यवसाय खुम्चिएको छ । जारी बीमालेख संख्याका आधारमा पोहोर चैतको तुलनामा यसपाली १४ मध्ये ७ वटा कम्पनीको व्यवसाय खुम्चिएको देखिएको हो । तर बीमालेखको संख्यामा आएको भारी कटौतिका बाबजुत बीमा शुल्कमा भने सबै कम्पनीले धेरथोर बढावा दिएकै देखिन्छ ।
यो आँकडालाई अझ नियालेर हेर्ने हो भने चाहीँ ४ वटा कम्पनीहरुको बीमा शुल्क पोहोरको तुलनामा साँघुरो (१० करोडभन्दा कम) अन्तरले मात्र बढेको देखिन्छ । त्यसमा पनि दुई कम्पनी व्यावसाय विस्तामा पछि परेका छन् ।
निजी क्षेत्रको कम्पनी सिद्धार्थ प्रिमियर व्यवसाय विस्तारको दौडमा सबैभन्दा पछाढी परेको छ । त्यसमा पनि दुई कम्पनी व्यावसाय विस्तारमा पछि परेका छन् । यावसाय विस्तारमा अन्तिम कम्पनी सिद्धार्थ प्रिमियर बन्दा सरकारी स्वामित्वको संस्थान राष्ट्रिय बीमा कम्पनी सेकेण्ड लाष्ट बनेको छ ।
पोहोर चैतको तुलनामा गत चैतसम्म आउँदा सिद्धार्थ प्रिमियरको बीमा शुल्क १ करोड ५१ लाख रुपैयाँमात्रै बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । जबकी राष्ट्रिय बीमा कम्पनीले यही एक वर्षको अन्तरालमा आफ्नो कुल बीमाशुल्क १ करोड ७१ लाख रुपैयाँ बढाएको देखिन्छ । व्यावसायिक विस्तार (ग्रोथ)को नजरले हेर्दा १४ कम्पनीको सूचीमा पुछारबाट गन्ने हो भने प्रभू इन्स्योरेन्स तेस्रो र सगरमाथा लुम्बिनी चौँथो स्थानमा देखिन्छन् ।
बीमालेख संख्याको आधारमा पनि सिद्धार्थ प्रिमियर तल रेको छ । वितेको एक वर्षमा सिद्धार्थ प्रिमियरले आफ्नो कम्पनीमा भएको कुल बीमालेखको संख्या करीब २४ हजारले घटाको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।
पोहोर चैतमा २ लाख २९ हजारभन्दा ज्यादा बीमालेख ‘सर्भ’ गरिरहेको यो कम्पनीले यो चैतमा आउँदा त्यस्तो बीमालेखको संख्या २ लाख ५ हजारमा झरेको छ । राष्ट्रिय बीमाको त कुरै गर्नु परेन । त्यहाँ पोहोर साल १ लाख ५२ हजार बीमालेख भएकोमा यो चैतमा आउँदा जम्मा २३ हजारमा झरेको छ । प्रभू इन्स्योरेन्सको बीमालेख संख्या पनि साढे १२ हजार हाराहारी घटेको छ ।
सगरमाथा लुम्बिनी, सानिमा जीआईसी, नेशनल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले पनि बीमालेखको आँकडालाई टिकाउन नसकेको देखिएको छ ।
हिमालयन र एनएलजीको रफ्तार
निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन एभरेस्ट र एनएलजी इन्स्योरेन्सले भने आक्रामक विस्तार गरिरहेको देखिएको छ । वितेको एक वर्षमा हिमालयन एभरेस्टले ४४ हजारभन्दा फराकिलो अन्तरले बीमालेखको संख्या बढाएको छ । बीमा शुल्कको आँकडामा त यो कम्पनी ‘नम्बर १’ बनेको छ । उसले पोहोरको तुलनामा यो चैतमा ९५ करोड ७५ लाख रुपैयाँले बीमाशुल्क बढाएको देखिन्छ । यो ३४ प्रतिशतभन्दा बढीको अन्तर हो ।
एनएलजीको विस्तार पनि उस्तै लोभलाग्दो छ । उसले यो एक वर्षमा १७ हजारभन्दा बढी बीमालेख थपेको छ र बीमाशुल्क (प्रिमियम) पनि ८७ करोड ६१ लाख बढाएको छ । बीमा शुल्कमा भएको यो बृद्धि ४१ प्रतिशतभन्दा बढीको हो ।
‘रिटल विजनेश’मा भने युनाइटेड अजोडले जीत हासिल गेको छ । उसको बीमालेख संख्या यो एक वर्षमा झण्डै १ लाख ८० हजार बढेको देखिन्छ । १ लाख ७४ हजारबाट एक वर्षको अन्तरमा बीमालेख संख्या ३ लाख ५४ हजार हाराहारी पुर्याएको छ । यति धेरै बीमालेख बढाए पनि उसको बीमाशुल्क भने करीब ७१ करोड रुपैयाँ बढेको छ, जुन ‘इन्डस्ट्री’मा तेस्रो ठूलो फड्को हो ।
बीमालेख संख्याका आधारमा युनाइटेड अहिले सबैभन्दा ठूलो कम्पनी हो । बीमा शुल्कमा ‘लिड’ गरिरहेको शिखरसँगभन्दा युनाइटेडसँग करीब सवा लाख ज्यादा बीमालेख छन् । बीमा शुल्कका आधारमा भने शिखरपछि सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर र आईजीआई प्रुडेन्सियल ‘टप फाइभ’मा पर्छन् ।
वितेको एक वर्षको तथ्यांकले भन्छ– अहिले हिमालयन एभरेस्ट इन्स्योरेन्स पनि चीनले अमेरिकालाई उछिन्न प्रतिस्पर्धामा होमिएजस्तै शिखरलाई पछि पार्ने दौडमा छ । तर शीर्ष पाँचमा परेको अर्को कम्पनी सिद्धार्थ प्रिमियर भने ‘कछुवाले ज्यान सोहोरेजस्तै’ आफ्नो व्यावसायिक हैसियतलाई विस्तारै खुम्च्याउँदै छ ।














