बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद शेयर भर्ने म्याद थप
काडमाडाैं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको शतप्रतिशत (१:१ अनुपात) हकप्रद शेयरमा आवेदन दिने समय सीमा थप गरिएको छ।
गत चैत २२ गतेदेखि बिक्री खुला गरिएको यस शेयरमा अब लगानीकर्ताहरूले आगामी बैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन्। यसअघि बैशाख १३ गतेसम्मको समय तोकिए पनि माग अनुसारको आवेदन नपरेपछि कम्पनीले समय थप गर्ने निर्णय गरेको हो।
बैशाख १० गते बेलुकासम्मको तथ्यांक अनुसार जम्मा १४ लाख ५० हजार २७१ कित्ताका लागि मात्र आवेदन परेको छ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १०० रुपैयाँ अंकित मूल्यका कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ४० करोड रुपैयाँ रहेको छ। यो शेयरमा फागुन १ गतेभन्दा अघि अर्थात् माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र लगानी गर्न योग्य हुनेछन्।
बुकक्लोजको मिति फागुन १ गते तय गरेकाले सो मितिभन्दा अगाडिका शेयरधनीले मात्र यस अवसरको लाभ लिन सक्नेछन्।













