हर्मुज जलसन्धिमा अमेरिका र इरानको शक्ति संघर्षः बढ्दो तनावबीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०६ डलर नाघ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हर्मुज जलसन्धिमा अमेरिका र इरानको शक्ति संघर्षः बढ्दो तनावबीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०६ डलर नाघ्यो



काठमाडौं । हर्मोज जलसन्धिमा अमेरिका र इरानबीच चर्किएको विवादका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। दुई देशबीच एकअर्काका व्यावसायिक जहाज नियन्त्रणमा लिने होडबाजी चल्दा तेलको मूल्य प्रतिब्यारेल १०६ डलर माथि पुगेको छ।

न्तर्राष्ट्रिय बेन्चमार्क मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य शुक्रबार बिहान प्रतिब्यारेल १०६.८० डलर पुगेको छ। यो अघिल्लो बुधबारको तुलनामा करिब ५ प्रतिशतको वृद्धि हो। दुई सातायता पहिलो पटक तेलको मूल्यले १०० डलरको विन्दु पार गरेको छ। तेलको मूल्य बढेसँगै अमेरिकी शेयर बजारमा पनि गिरावट देखिएको छ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत हर्मोज जलसन्धि भएर जाने जहाजहरूले अब अमेरिकी नौसेनाको अनुमति लिनुपर्ने बताएका छन्। उनले अमेरिकी नौसेनालाई जलसन्धिमा अवरोध सिर्जना गर्ने इरानी डुङ्गाहरू नष्ट गर्न आदेश दिएको समेत उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, “इरानसँग सम्झौता नभएसम्म यो मार्ग पूर्ण रूपमा सिल गरिएको छ।”

यसअघि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले प्रतिबन्धित इरानी तेल बोकेको ट्याङ्कर एक साताभित्रै दोस्रो पटक नियन्त्रणमा लिएको घोषणा गरेको थियो।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले पनि सोही जल क्षेत्रबाट दुईवटा विदेशी मालबाहक जहाजहरू नियन्त्रणमा लिएको जनाएको छ। आवश्यक अनुमति नलिएको र सञ्चार प्रणालीमा अवरोध पुर्‍याएको आरोपमा पानामा र ग्रीसका जहाजहरू नियन्त्रणमा लिइएको इरानको दाबी छ। यद्यपि, ग्रीसले भने आफ्नो जहाज क्याप्टेनकै नियन्त्रणमा रहेको भन्दै इरानी दाबीको खण्डन गरेको छ।

विश्वको करिब पाँच भागको एक भाग तेल र प्राकृतिक ग्यास ढुवानी हुने यो जलसन्धिमा अहिले जहाजहरूको आवागमन ठप्प प्रायः छ। तथ्याङ्क अनुसार, गत सोमबार १५ वटा जहाजले यो मार्ग प्रयोग गरेकोमा बुधबार यो संख्या घटेर ९ मा सीमित भएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गर्नुअघि यो मार्गबाट दैनिक औसत १२९ जहाजहरू आवतजावत गर्ने गर्थे।

इरानले कुन जहाज पास हुने भन्ने अधिकार आफ्नो हुनुपर्ने माग गरिरहेको छ भने अमेरिकाले इरानको समुद्री व्यापारमाथि पूर्ण रोक लगाउने प्रयास गरिरहेको छ। दुई देशको यो टकरावले विश्व बजारमा ऊर्जा संकट थप गहिरिने निश्चित देखिएको छ।


प्रतिक्रिया दिनुहोस्