ज्योति विकास बैंकको नाफामा छलाङ: ९ महिनामा ६२ करोड ९४ लाख कमायाे, वितरणयोग्य मुनाफा कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा ज्योति विकास बैंकको नाफा १०५.३० प्रतिशतले बढेको छ।
बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ठुलो सुधार आएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ७९ पैसाले बढेर १९ रुपैयाँ ०९ पैसा पुगेको छ।
यस्तै चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि ०.७८ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ६५ लाख ३३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५८ करोड ४१ लाख ३९ हजार रुपैयाँ थियो।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने ४३ करोड ४८ लाख ४४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख २० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४३ करोड ७९ लाख ६१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। चैत मसान्तसम्मको अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज गत वर्षको ५२ करोड १६ लाख १७ हजार रुपैयाँबाट उल्लेख्य घटेर ११ करोड ८४ लाख ९९ हजार रुपैयाँमा झरेको छ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब २२ करोड ३१ लाख ४७ हजार रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा भने बढेर ७.८३ प्रतिशत पुगेको छ।
यस्तै बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६४ अर्ब ४९ करोड ८ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ९८ करोड ८९ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।













