७ श्रावण २०८३, बिहिबार

सालपा विकास बैंकको खुद नोक्सानीमा सुधार, खराब कर्जा उल्लेख्य घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा सालपा विकास बैंकको खुद नोक्सानीमा सुधार आएको छ।

बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा बैंक ३१ लाख ८९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंक ३५ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा थियो। अघिल्लो वर्षको तुलनामा बैंकले आफ्नो नोक्सानीलाई केही कम गर्न सफल भएको छ।

नोक्सानी घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्ष १ रुपैयाँ ३६ पैसा ऋणात्मक थियो।

यस्तै चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशतले बढेर ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ करोड २२ लाख १५ हजार रुपैयाँ थियो। बैंकको कुल सञ्चालन आम्दानी पनि ७.७० प्रतिशतले बढेर ६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने १ करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि सुधारोन्मुख देखिन्छ। अघिल्लो वर्ष ३५ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा यस वर्ष घटेर ३१ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ। चैत मसान्तसम्मको अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज गत वर्षको १ करोड ६६ लाख २८ हजार रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँमा झरेको छ।

हाल बैंकको चुक्ता पूँजी ४९.२५ प्रतिशतले वृद्धि भई ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ करोड ८७ लाख २७ हजार रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जामा भने उल्लेख्य सुधार आएको छ। गत वर्ष ६.९२ प्रतिशत रहेको खराब कर्जा घटेर ३.३५ प्रतिशतमा झरेको छ।

यस्तै बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ४९ करोड ४३ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब १९ करोड ७५ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्