एभरेष्ट बैंकले कमायाे ३ अर्ब ३२ करोड नाफा, वितरणयोग्य मुनाफा ४ अर्ब नाघ्याे वितरणयोग्य मुनाफा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा एभरेष्ट बैंक लिमिटेडको खुद नाफामा सामान्य गिरावट देखिएको छ।
बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३.७० प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ थियो।
यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.२३ प्रतिशतले बढेर ८ अर्ब ९३ करोड १० लाख ३५ हजार रुपैयाँ पुगेको छ। यद्यपि, सञ्चालन मुनाफा भने ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार रुपैयाँमा झरेको छ।
यता खुद फि तथा कमिशन आम्दानी ३२.४९ प्रतिशतले उल्लेख्य बढेर १ अर्ब ४५ करोड २६ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
यस्तै समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख ६९ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा (वार्षिकीकरण नगर्दा) रहेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज भने २७ करोड २९ लाख ४८ हजार रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २६ पैसाले घटेर ३२ रुपैयाँ ३५ पैसामा सीमित भएको छ।
यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा र मूल्य आम्दानी अनुपात २१.५८ गुणा रहेको छ।
१३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख ९ हजार रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड ९८ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।
















