खुद ब्याज आम्दानी बढेसँगै नेपाल बैंकको वित्तीय अवस्था बलियो: लाभांश क्षमता १ अर्ब ७३ करोड माथि
काठमाडौँ । नेपाल बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ। चैत मसान्तसम्म बैंकले २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ०.३४ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ रहेको छ भने बैंकको खराब कर्जा ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ।
यता समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। चैत मसान्तसम्ममा यस्तो आम्दानी २.९० प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको उक्त आम्दानी ७ अर्ब १० करोड ७५ लाख २६ हजार रुपैयाँ रहेको थियो।
यता, बैंकको सञ्चालन नाफा भने १२.५२ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा ४ अर्ब ३१ करोड २७ लाख ८३ हजार रुपैयाँ रहेको थियो।
नौ महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५.३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २७२.७९ रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्तापूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।
















