लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० देखि ‘एलएस होराइजन १२’ निष्काशन गर्ने
काठमाडाैं । लक्ष्मी सनराइज क्यापिटलले आगामी बैशाख ३० गतेदेखि नयाँ सामूहिक लगानी कोष ‘एलएस होराइजन १२’ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ।
लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको कोष हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
कुल निष्काशन गरिने १२ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
यस फण्डमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन दिने म्याद जेठ १३ गतेसम्म थप गरिने क्यापिटलले जनाएको छ।













