अरुण काबेली पावरले विद्युत नियमन आयोगबाट पायाे ५० प्रतिशत हकप्रद शेयर निष्कासनकाे पूर्वस्वीकृति
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।
आयोगले कम्पनीलाई हाल कायम रहेको चुक्तापुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।
यससँगै अब कम्पनीले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० रुपैयाँ बराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउनेछ।
आयोगले यो पूर्वस्वीकृति प्रदान गर्दा केही महत्वपूर्ण सर्तहरू समेत राखेको छ। जसअनुसार हकप्रद शेयरबाट संकलित रकममध्ये १ अर्ब रुपैयाँ काबेली बी–१ जलविद्युत आयोजना निर्माणका क्रममा लिइएको ऋण भुक्तानीमा उपयोग गर्नुपर्नेछ।
बाँकी रहेको ९४ करोड ७९ लाख रुपैयाँ भने ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी ‘काबेली इनर्जी’ मा लगानी गर्नुपर्नेछ। यी दुवै प्रयोजनका लागि रकम उपयोग भएको १५ दिनभित्र सोको पुष्टि हुने कागजात आयोगमा पेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
यसका साथै, कम्पनीले प्रचलित कानुनबमोजिम अन्य सम्बन्धित निकाय वा तहबाट अनुमति लिनुपर्ने भएमा सो प्रक्रिया पूरा गरी आयोगलाई जानकारी गराउनुपर्ने छ।













