सशस्त्र प्रहरीको नयाँ आइजीपीमा बालेन सरकारले रोज्यो पौडेललाई - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सशस्त्र प्रहरीको नयाँ आइजीपीमा बालेन सरकारले रोज्यो पौडेललाई



काठमाडौँ । नेपालको अर्धसैनिक बल, सशस्त्र प्रहरी बलले नयाँ नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई संगठनको १३ औं महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति गर्ने औपचारिक निर्णय गरेको छ।

हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागको जिम्मेवारी सम्हालिरहेका पौडेलले आगामी वैशाख १८ गतेदेखि संगठनको सर्वोच्च कमाण्ड सम्हाल्नेछन्।

वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी सोही दिन अनिवार्य अवकाशमा जान लागेकाले सरकारले वरीयता र कार्यक्षमताका आधारमा पौडेललाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

यस पटकको आईजीपी चयन प्रक्रियामा पौडेल मुख्य दाबेदारका रूपमा हेरिएका थिए। संवत २०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट सुरक्षा सेवामा प्रवेश गरेका पौडेलको व्यावसायिक यात्रा निकै प्रभावशाली देखिन्छ।

नेतृत्वको दौडमा सीमा विभागका एआईजी वंशी दाहाल र कार्य विभागका एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धीका रूपमा रहे तापनि पौडेल उनीहरूभन्दा वरीयतामा अगाडि थिए। पौडेल २०७९ जेठ ६ गते नै एआईजी पदमा नियुक्त भइसकेका थिए भने उनका निकटतम प्रतिस्पर्धी दाहाल करिब पाँच महिनापछि मात्र अर्थात् २०७९ असोज २८ गते सो पदमा पुगेका थिए।

दाहाललाई एआईजी बनाउन सरकारले त्यतिबेला सीमा सुरक्षा विभागमा विशेष दरबन्दी समेत सिर्जना गरेको थियो। अर्का प्रतिस्पर्धी ठाडा मगर भने भर्ना प्रक्रिया र पदोन्नति दुवै हिसाबले पौडेलभन्दा झण्डै दुई वर्ष कनिष्ठ हुन्।

नवनियुक्त महानिरीक्षक पौडेलले आगामी २०८४ चैत १८ गतेसम्म करिब दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउनेछन्। विद्यमान सशस्त्र प्रहरी नियमावलीमा व्यवस्था गरिएको ३० वर्षे सेवा अवधिको प्रावधानका कारण उनी सोही मितिमा सेवानिवृत्त हुनेछन्। नेपाल प्रहरीमा सेवा सुरु गरे पनि सशस्त्र प्रहरी बलको स्थापनासँगै पौडेल यस संगठनमा स्थानान्तरण भएका थिए।

उनको वृत्तिविकासको श्रृङ्खला हेर्दा २०५८ असारमा कायममुकायम डीएसपी बनेका उनी सोही वर्षको चैतमा स्थायी डीएसपी भएका थिए। त्यसपछि २०६३ मा एसपी, २०७० मा एसएसपी, र २०७५ मा डीआईजी हुँदै उनी संगठनको उच्च तहमा पुगेका हुन्। अबको दुई वर्ष सशस्त्र प्रहरीको सुदृढीकरण र व्यावसायिकता विकास गर्ने चुनौती र जिम्मेवारी दुवै पौडेलको काँधमा आइपुगेको छ।


प्रतिक्रिया दिनुहोस्