माछापुछ्रे बैंकको खुद ब्याज आम्दानी र नाफा दुवैमा उल्लेख्य सुधार, ईपीएस कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा माछापुछ्रे बैंक लिमिटेडको खुद नाफामा उत्साहजनक वृद्धि देखिएको छ।
बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब २५ करोड ७ लाख ३७ हजार रुपैयाँ थियो।
यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.९३ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ३० लाख २१ हजार रुपैयाँ पुगेको छ। साथै, सञ्चालन मुनाफा पनि १६.६४ प्रतिशतले बढेर २ अर्ब ४० करोड १ लाख ९८ हजार रुपैयाँ पुगेको छ।
यता खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले बढेर १ अर्ब २१ करोड २८ लाख ५१ हजार रुपैयाँ पुगेको छ।
यस्तै समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज भने अघिल्लो वर्षको ७१ करोड ५६ लाख ८४ हजार रुपैयाँबाट घटेर ६७ करोड ३२ लाख ३२ हजार रुपैयाँमा झरेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १४ पैसाले बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ।
१५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब २१ करोड १२ लाख ३२ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।
















