ग्लोबल आइएमई बैंकले ९ महिनामा कमायाे ४ अर्ब ४० करोड नाफा, खुद ब्याज आम्दानी ११ अर्बबढी
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो। गत आवको चैत मसान्तसम्म बैंकले ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड ४४ लाख १३ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १२ अर्ब ३१ करोड ७१ लाख ९१ हजार रुपैयाँ थियो। यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ६.९३ प्रतिशतले घटेर ५ अर्ब ९० करोड ४६ लाख ७८ हजार रुपैयाँ कायम भएको छ।
यता बैंकको खुद फि तथा कमिसन आम्दानी भने १३.४८ प्रतिशतले बढेर २ अर्ब ६० करोड ७१ लाख ४६ हजार रुपैयाँ पुगेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ११ करोडबाट बढेर ३ अर्ब ९१ करोड ४८ लाख ३२ हजार रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५ करोड ५४ लाख ७९ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको वार्षिक प्रतिसेयर लाभांश क्षमता १०.५० रुपैयाँ देखिएको छ।
हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ९२ करोड ५८ लाख ९४ हजार रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट केही घटेर ४.९७ प्रतिशतमा झरेको छ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.४० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५३ पैसा कायम भएको छ। बैंकको आधार दर ६.९० प्रतिशतबाट घटेर ५.१९ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.८७ प्रतिशतबाट घटेर ३.५३ प्रतिशत कायम भएको छ।
















