इम्पेरमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा चुलियो: ब्याज आम्दानी र वितरणयोग्य मुनाफा कस्ताे ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
बैंकले सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३५.८२ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३० करोड ६४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १.४८ प्रतिशतले घटेर ४ अर्ब ६७ करोड ८८ लाख ५९ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ७४ करोड ८९ लाख ७६ हजार रुपैयाँ थियो। यद्यपि, बैंकको सञ्चालन मुनाफा भने ३८.६१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ९२ लाख ७१ हजार रुपैयाँ पुगेको छ।
यता बैंकको खुद फि तथा कमिसन आम्दानी पनि २ प्रतिशतले घटेर ९१ करोड ७३ लाख ५६ हजार रुपैयाँमा खुम्चिएको छ। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोड ६४ लाख ८१ हजार रुपैयाँमा झरेकाले बैंकको नाफा बढ्न पुगेको देखिन्छ।
वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस ) २ रुपैयाँ ५५ पैसाले बढेर ११ रुपैयाँ २३ पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात १८.७१ गुणा रहेको छ।
हाल १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब १८ करोड ६७ लाख ७१ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड १२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको खराब कर्जा भने ५.७१ प्रतिशतबाट बढेर ६.८२ प्रतिशत पुगेको छ।
















