१४ करोडमा खुम्चियाे एनआइसी एशिया बैंककाे नाफा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

१४ करोडमा खुम्चियाे एनआइसी एशिया बैंककाे नाफा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक



काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकको खुद नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतको गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १४ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको व्यवसायिक आकारको तुलनामा यो नाफा निकै न्यून देखिएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा २०.७८ प्रतिशतको उल्लेख्य गिरावट आएको छ। बैंकले चैत मसान्तसम्म ६ अर्ब ३० करोड ८२ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँ थियो। यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४७.८६ प्रतिशतले घटेर ६७ करोड २९ लाख ६ हजार रुपैयाँमा खुम्चिएको छ।

यता बैंकको खुद फि तथा कमिसन आम्दानी भने ८.५३ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७ लाख ६ हजार रुपैयाँ पुगेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५ करोड २ लाख रुपैयाँबाट केही घटेर २ अर्ब ९१ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ।

लगानीकर्ताका लागि चुनौतीपूर्ण पक्ष बैंकको वितरणयोग्य मुनाफा देखिएको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड ८२ लाख १४ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यसले बैंकको लाभांश दिन सक्ने क्षमतामा ठुलो धक्का लागेको देखिन्छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ पैसाले घटेर मात्र १ रुपैयाँ २५ पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २६.३३ प्रतिशतले घटेर १७२ रुपैयाँ ९७ पैसामा झरेको छ।

हाल १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड ४१ लाख ४९ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको खराब कर्जा भने १.९२ प्रतिशतबाट उल्लेख्य सुधार हुँदै ०.४९ प्रतिशतमा झरेको छ, जुन सकारात्मक पक्ष हो।


प्रतिक्रिया दिनुहोस्