नेपाल एसबिआई बैंकको मुनाफा १ अर्ब ४६ कराेड, अधिकांश सूचकमा सुधार, प्रतिसेयर आम्दानी कति ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेपाल एसबिआई बैंकको मुनाफा १ अर्ब ४६ कराेड, अधिकांश सूचकमा सुधार, प्रतिसेयर आम्दानी कति ?



काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले नाफा, आम्दानी र कर्जाको गुणस्तर जस्ता मुख्य सूचकहरूमा उत्साहजनक प्रगति गरेको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत) सम्ममा बैंकले १ अर्ब ४६ करोड १७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशतको वृद्धि हो। गत आवको चैत मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब २० करोड ३२ लाख ६१ हजार रुपैयाँ रहेको थियो।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र गैर-ब्याज आम्दानीको महत्वपूर्ण योगदान रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४६ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड ९४ लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५३ करोड ५० लाख ३९ हजार रुपैयाँ थियो। त्यसैगरी, गैर-ब्याज आम्दानी (खुद फि तथा कमिसन आम्दानी) २७.४२ प्रतिशतले उल्लेख्य वृद्धि हुँदै १ अर्ब ५३ करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ।

बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा पनि ठूलो सुधार ल्याएको छ। बैंकको निष्क्रिय कर्जा १५३ आधार बिन्दुले घटेर २.५३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको चैतमा ४.०६ प्रतिशत रहेको थियो। यसैगरी, बैंकले आफ्नो कोषको लागत ५.३५ प्रतिशतबाट घटाएर ४.११ प्रतिशतमा ल्याउन सफल भएको छ।

पूँजीगत आधारतर्फ पनि बैंक थप मजबुत देखिएको छ। बैंकको पूँजी पर्याप्तता अनुपात १३२ आधार बिन्दुले वृद्धि भई १३.७६ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ५२ लाख ९१ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर लाभांश क्षमता १० रुपैयाँ ७५ पैसा कायम भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष १४ रुपैयाँ १५ पैसा रहेको ईपीएस यस वर्ष १७ रुपैयाँ १९ पैसा पुगेको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) २३.५५ गुणा रहेको छ।

हाल ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब २६ करोड ९२ लाख ३७ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब २० अर्ब २ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्