९ महिनामा वाणिज्य बैंकहरूले कमाए ४९ अर्ब बढी नाफा, नबिल पहिलोबन्दा कुमारीको ऐतिहासिक वृद्धि - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

९ महिनामा वाणिज्य बैंकहरूले कमाए ४९ अर्ब बढी नाफा, नबिल पहिलोबन्दा कुमारीको ऐतिहासिक वृद्धि



काठमाडौं । नेपाली बैंकिङ क्षेत्रका लागि चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमास उत्साहजनक देखिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार देशका २० वटा वाणिज्य बैंकहरूले ९ महिनाको अवधिमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएका छन् ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही शिथिलताका बाबजुद बैंकहरूको नाफामा आएको यो सुधारले वित्तीय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकले यस अवधिमा कुल ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूको कुल नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो । यो तुलनात्मक रूपमा हेर्दा समग्र बैंकिङ क्षेत्रको नाफामा १९.३ प्रतिशतको वृद्धि हो ।

समग्र नाफाको अंक हेर्दा बैंकिङ क्षेत्रले सुस्त गतिमा भए पनि आफ्नो लय समात्न थालेको देखिन्छ । यद्यपि, सबै बैंकहरूको अवस्था भने समान छैन । केही बैंकहरूले अर्बौँको नाफा कमाउँदा केही भने अझै पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् ।

२० वटा बैंकमध्ये १४ वटा बैंकको नाफामा सुधार देखिएको छ भने ६ वटा बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ । खराब कर्जा व्यवस्थापन र ब्याज आम्दानीमा भएको वृद्धिले धेरैजसो बैंकलाई नाफा बढाउन मद्दत गरेको देखिन्छ । कुल नाफाको झण्डै आधा हिस्सा शीर्ष पाँच बैंकहरूले मात्र ओगटेका छन् । जसले बजारमा ठूला बैंकहरूको वर्चस्व कायमै रहेको पुष्टि गर्छ ।

नाफा कमाउने दौडमा यसपटक पनि नबिल बैंकले आफ्नो विरासत जोगाउँदै पहिलो स्थान सुरक्षित गरेको छ । नबिल बैंकले ९ महिनाको अवधिमा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएर आफूलाई ’नम्बर वान’ बैंकको रूपमा स्थापित गरेको छ । नबिलको यो नाफा गत वर्षको तुलनामा ३३.९२ प्रतिशतले बढी हो ।

त्यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । जसले ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपि, ग्लोबल आइएमईको नाफामा गत वर्षको तुलनामा २.९३ प्रतिशतको सामान्य गिरावट देखिएको छ ।

तेस्रो स्थानमा कुमारी बैंक देखिएको छ । जसले ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ नाफा कमाएर सबैलाई आश्चर्यचकित पारेको छ । एभरेष्ट बैंक ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ सहित चौथो स्थानमा र इन्भेष्टमेण्ट मेगा बैंक ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ सहित पाँचौँ स्थानमा रहन सफल भएका छन् ।

यस वर्षको वित्तीय विवरणमा सबैभन्दा रोचक पक्ष कुमारी बैंकको नाफामा देखिएको अस्वभाविक वृद्धि हो । कुमारी बैंकले गत वर्षको चैतसम्ममा जम्मा २८ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्र नाफा कमाएकोमा यस वर्ष १३६१.७६ प्रतिशतको छलाङ मार्दै ४ अर्ब १७ करोड माथि पुर्‍याएको छ । यो वृद्धि बैंकिङ इतिहासमै विरलै देखिने वृद्धि हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि आफ्नो नाफामा १२९.३४ प्रतिशतको सुधार गर्दै २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ पुर्‍याएको छ । प्रतिशतका आधारमा धेरै नाफा बढाउने अन्य बैंकहरूमा हिमालयन बैंक (५२.४९ प्रतिशत), माछापुच्छ्रे बैंक (५०.४३ प्रतिशत) र सानिमा बैंक (४२.२२ प्रतिशत) रहेका छन् । सरकारी स्वामित्वको नेपाल बैंकले भने आफ्नो नाफामा ०.३४ प्रतिशतको झिनो वृद्धि गर्दै २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ कमाएको छ ।

केही बैंकहरूको नाफामा भने उल्लेख्य गिरावट आएको छ । प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५४.६१ प्रतिशतले घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँमा खुम्चिएको छ । त्यस्तै, इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले र कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेको देखिन्छ। पछिल्लो समय आक्रामक बजार विस्तारमा लागेको एनआइसी एशिया बैंकको नाफामा पनि १०.४९ प्रतिशतको गिरावट आएर १ अर्ब ४० करोड ३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ ।

समग्रमा हेर्दा बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा र बजारको अस्थिरताका बीच पनि अधिकांश बैंकहरूले आफ्नो नाफालाई सुरक्षित राख्न र वृद्धि गर्न सफल भएको देखिन्छ । जसले लगानीकर्ताहरूमा नयाँ आशा जगाएको छ ।


प्रतिक्रिया दिनुहोस्