९ महिनामा राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ५ अर्ब, लुम्बिनीले १०२८ प्रतिशत वृद्धि गर्दा अन्यको कस्तो ?
काठमाडौं । मुलुकको अर्थतन्त्रमा केही शिथिलता देखिए पनि राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा भने निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूले आफ्नो नाफामा उल्लेख्य सुधार गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी बैंकहरूको समग्र खुद नाफा ४९.०४ प्रतिशतले बढेर ५ अर्ब ५० करोड ३५ लाख ७६ हजार २ सय ३९ रुपैयाँ पुगेको छ । गत वर्ष चैतसम्म यी बैंकहरूले कुल ३ अर्ब ६९ करोड २७ लाख ९५ हजार ४ सय ५९ रुपैयाँ मात्र नाफा आर्जन गरेका थिए ।
बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार खराब कर्जा असुलीमा आएको सुधार र सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण समग्र बैंकिङ क्षेत्र दबाबमा रहेका बेला पनि विकास बैंकहरूले भने आफ्नो मुनाफाको ग्राफलाई माथि लैजान सफल भएका हुन् ।
नाफा कमाउने प्रतिस्पर्धामा गरिमा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । गरिमा विकास बैंकले यस अवधिमा १ अर्ब ४ करोड ८२ लाख ३९ हजार २३ रुपैयाँ खुद नाफा कमाउँदै अर्बपति क्लबमा आफूलाई सुरक्षित राखेको छ । गरिमाको नाफा गत वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढेको हो ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७८ करोड ८४ लाख ४ हजार ४ सय ७६ रुपैयाँ नाफासहित तेस्रो स्थानमा छ भने ज्योति विकास बैंक ६२ करोड ९४ लाख ६२ हजार ३ सय ९९ रुपैयाँ कमाउँदै चौथो स्थानमा उक्लिएको छ ।
कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख ९८ हजार ७ सय २१ रुपैयाँ र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख ८३ हजार ३ सय ७९ रुपैयाँ नाफा कमाएका छन् । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४८ करोड ४५ लाख ३९ हजार ८९ रुपैयाँ र महालक्ष्मी विकास बैंकको नाफा ४५ करोड ९९ लाख ६४ हजार ९ सय ५२ रुपैयाँ रहेको छ ।
गत वर्षको तुलनामा नाफा वृद्धिको प्रतिशतलाई हेर्ने हो भने लुम्बिनी विकास बैंकले चमत्कारिक सुधार गरेको देखिन्छ । लुम्बिनी विकास बैंकको नाफा गत वर्षको चैतमा ४ करोड ९७ लाख ८३ हजार ५ सय ६९ रुपैयाँ मात्र रहेकोमा यस वर्ष १०२८.२५ प्रतिशतले बढेर ५६ करोड १६ लाख ८३ हजार ३ सय ७९ रुपैयाँ पुगेको छ । यो वृद्धिदर राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा उच्च हो ।
यस्तै, ज्योति विकास बैंकले पनि आफ्नो नाफामा १०५.३ प्रतिशतको छलाङ मार्दै ३० करोड ६६ लाखबाट ६२ करोड ९४ लाख पुर्याएको छ । अन्य बैंकहरूमा साइन रेसुङ्गाले ५३.३८ प्रतिशत, गरिमाले ४२.९१ प्रतिशत र मुक्तिनाथले ३०.०४ प्रतिशतको वृद्धि हासिल गरेका छन् । सबैभन्दा कम वृद्धिदर महालक्ष्मी विकास बैंकको ५.३६ प्रतिशत रहेको छ ।
समग्रमा हेर्दा अधिकांश विकास बैंकहरूले खराब कर्जा व्यवस्थापन र व्यवसाय विस्तारमा सन्तुलन मिलाउँदा चालु आर्थिक वर्षको ९ महिनामा लगानीकर्ताहरूलाई उत्साहित बनाउने गरी वित्तीय नतिजा सार्वजनिक गर्न सफल भएका छन् ।












