इम्पेरमेन्ट चार्ज घट्दा कुमारी बैंकको नाफामा चामत्कारिक सुधारः झण्डै साढे ९ अर्ब उठायो ब्याज, ईपीएस कति ?
काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा कुमारी बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
बैंकले सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १३६१.४५ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २८ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
यस्तै अघिल्लो वर्ष ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.४७ प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख २२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ९८ करोड ६५ लाख ५० हजार रुपैयाँ रहेको थियो।
यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।
बैंकको अन्य वित्तीय सूचकहरूमा पनि सकारात्मक परिवर्तन देखिएको छ। प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसाबाट बढेर २१ रुपैयाँ २४ पैसा पुगेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५३ पैसा कायम भएको छ। बैंकको खराब कर्जा भने ६.९८ प्रतिशतबाट झरेर ६.९४ प्रतिशत कायम भएको छ।
हाल २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख ४३ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १६ करोड ६३ लाख ५९ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।
















