राष्ट्रिय बाणिज्य बैंकको अधिकांश वित्तिय सूचकमा चमकः ९ महिनामै २ अर्ब ७६ करोड नाफा, झण्डै पाैने ९ अर्ब उठायाे ब्याज - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

राष्ट्रिय बाणिज्य बैंकको अधिकांश वित्तिय सूचकमा चमकः ९ महिनामै २ अर्ब ७६ करोड नाफा, झण्डै पाैने ९ अर्ब उठायाे ब्याज



राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा आफ्नो नाफामा ऐतिहासिक सुधार गर्दै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा खुद नाफा १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

बैंकको नाफामा आएको यो उल्लेख्य बढोत्तरीको मुख्य आधार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धि हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.५७ प्रतिशतले बढेर ८ अर्ब ७० करोड ८७ लाख ३९ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि १३१.५८ प्रतिशतको उच्च वृद्धि सहित ३ अर्ब ९३ करोड ९९ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ७० करोड २२ लाख रुपैयाँमा सीमित थियो।

बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा पनि सुधार ल्याएको देखिन्छ। गत वर्षको चैत मसान्तसम्म ४.६९ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ४.४८ प्रतिशतमा झरेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ कायम भएको छ। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ २७ पैसाबाट बढेर २३ रुपैयाँ ५५ पैसा पुगेको छ।

वित्तीय अवस्था थप सुदृढ बन्दै जाँदा बैंकको लाभांश वितरण गर्ने क्षमता पनि धनात्मक बनेको छ। बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ रहेको छ, जुन गत वर्ष १ अर्ब २ करोड रुपैयाँले ऋणात्मक रहेको थियो। हाल १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३९ अर्ब ८ करोड ६७ लाख १९ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ ३५१ रुपैयाँ ९८ पैसा पुगेको छ।

व्यवसाय विस्तारका हिसाबले राष्ट्रिय बाणिज्य बैंकले चैत मसान्तसम्ममा ५ खर्ब ९७ अर्ब ९६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २२ अर्ब ८७ करोड ८९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निक्षेप लागत २.९७ प्रतिशत र आधार दर ४.२१ प्रतिशतको न्यून विन्दुमा रहेको छ, जसले बैंकको सञ्चालन दक्षतालाई मजबुत देखाउँछ।


प्रतिक्रिया दिनुहोस्