कृषि विकास बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड माथि - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कृषि विकास बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड माथि



काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारी स्वामित्वको कृषि विकास बैंकका अधिकांश सूचकहरूमा चमक देखिएकाे छ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा खुद नाफा ५७.१९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ करोड ६८ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको नाफामा सुधार देखिए पनि मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने केही संकुचन आएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३४ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ३९ लाख ९३ हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष ५ अर्ब ८१ करोड २३ लाख ८ हजार रुपैयाँ रहेको थियो।

यद्यपि, बैंकको सञ्चालन मुनाफामा भने सकारात्मक सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा ३४.२६ प्रतिशतले बढेर २ अर्ब १२ करोड ९ लाख २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ५७ करोड ९७ लाख ७२ हजार रुपैयाँमा सीमित थियो।

बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा भने केही चुनौतीको सामना गरिरहेको देखिन्छ। गत वर्षको चैत मसान्तसम्म ४.९८ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा सामान्य वृद्धिसँगै ५.०६ प्रतिशत कायम भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९६ करोड ५४ लाख ४१ हजार रुपैयाँ कायम भएको छ। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ २५ पैसा पुगेको छ।

वित्तीय अवस्थामा सुधार आएसँगै बैंकको लाभांश वितरण गर्ने क्षमता पनि सुदृढ बनेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १४ लाख ४२ हजार रुपैयाँ रहेको छ, जुन गत वर्ष १ अर्ब ९१ करोड १० लाख ३१ हजार रुपैयाँ रहेको थियो। हाल १८ अर्ब ८८ करोड ४३ लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड ६२ लाख ३५ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ १९ पैसा कायम भएको छ।

व्यवसाय विस्तारका हिसाबले कृषि विकास बैंकले चैत मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ८ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ करोड १२ लाख ५७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निक्षेप लागत ३.३५ प्रतिशत र आधार दर ५.०१ प्रतिशतको विन्दुमा रहेको छ, जसले बैंकको लागत व्यवस्थापनमा भइरहेको सुधारलाई संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्