१३ श्रावण २०८३, बुधबार

बजारमा पैसा फालाफाल, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब २० अर्ब खिच्दै



काठमाडौँ । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप १ खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले मौद्रिक उपकरणको प्रयोग गर्दै ’निक्षेप संकलन’ बोलकबोलमार्फत उक्त परिमाणको पैसा प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले जारी गरेको पछिल्लो सूचना अनुसार, बैंकमा पैसा थुप्रिएर अन्तर–बैंक ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा तल झर्न थालेपछि तरलता सन्तुलनमा राख्न यो कदम चालिएको हो । इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयभित्र अनलाइन बोलकबोल प्रणालीमार्फत यसमा सहभागी हुन सक्नेछन् । यसरी खिचिएको रकमको अवधि र ब्याजदर बोलकबोलकै माध्यमबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।

लगानीका नयाँ क्षेत्र पहिचान हुन नसक्दा र निजी क्षेत्रबाट कर्जाको माग अपेक्षित रूपमा नबढ्दा बैंकहरूमा निक्षेप थुप्रिने क्रम बढ्दो छ । जसका कारण अल्पकालीन ब्याजदरहरू निकै न्यून बिन्दुमा पुगेका छन् । जसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले निरन्तर बजारबाट पैसा खिचिरहेको छ ।

यसअघि पनि राष्ट्र बैंकले विभिन्न चरणमा अर्बौँ रुपैयाँ बजारबाट प्रशोचन गरिसकेको छ । तर, प्रणालीमा निरन्तर पैसा थपिने क्रम नरोकिएपछि पुन: ठूलो परिमाणमा तरलता व्यवस्थापन गर्न लागिएको हो । यस प्रक्रियाले बजारमा ब्याजदरलाई एक निश्चित सीमाभित्र राख्न र वित्तीय स्थायित्व कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।