वाणिज्य बैंकहरूकाे `खराब कर्जा’: एभरेष्टको साख जाेगिँदा कसकाे कति ?
काठमाडौं । नेपालको अर्थतन्त्र अहिले एक किसिमको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । बजारमा मन्दीको चर्चा छ । घरजग्गाको कारोबार सुस्त छ र सहकारी क्षेत्रको समस्याले समग्र वित्तीय प्रणालीमै अविश्वासको बादल मडारिरहेको छ ।
यसको प्रत्यक्ष असर अहिले वाणिज्य बैंकहरूको वित्तीय विवरणमा प्रस्टै देखिन थालेको छ । चैत २०८१ को तुलनामा चैत २०८२ सम्म आइपुग्दा बैंकहरूको औसत खराब कर्जा ४.८३ प्रतिशतबाट बढेर ५.२५ प्रतिशत पुगेको छ । यो वृद्धि हेर्दा सामान्य लागे पनि बैंकिङ स्वास्थ्यका लागि भने एउटा गम्भीर चेतावनीको घण्टी हो ।
खराब कर्जा बढ्नु भनेको बैंकले लगानी गरेको पैसा फिर्ता नआउनु मात्र होइन, बरु त्यसको सावाँ र ब्याज नउठ्दा बैंकले आफ्नो नाफाबाट ठूलो हिस्सा प्रोभिजनिङ (सम्भावित नोक्सानी व्यवस्था) मा राख्नुपर्ने हुन्छ ।
यसले बैंकको लाभांश वितरण क्षमतामा ह्रास ल्याउँछ र अन्तत: सेयरधनीहरूको खल्तीमा सीधा असर पार्छ । बैंकहरूले अहिले जसरी कर्जा असुलीमा आक्रामक रणनीति अपनाइरहेका छन् । त्यसले पनि बजारमा कति सकस छ भन्ने प्रस्ट पार्छ ।
सुपर स्टार एभरेष्ट र ’प्रेशर’ मा परेका हस्तीहरू
कुनै पनि संकटमा सबैको हालत एउटै हुँदैन । कोही संकटलाई चिर्दै अघि बढ्छन् त कोही त्यही संकटको भुमरीमा फस्छन् । तथ्यांकलाई नियाल्ने हो भने एभरेष्ट बैंक अहिले पनि नेपाली बैंकिङ क्षेत्रको ’क्लिन’ खेलाडीका रूपमा उभिएको छ ।
जतिबेला धेरै बैंकहरू ५ प्रतिशतको जोखिमपूर्ण सीमा काटेर माथि पुगिसकेका छन् । एभरेष्टले आफ्नो खराब कर्जालाई ०.६१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।
यो कुनै चमत्कार होइन बरु बैंकले पछ्याएको सन्तुलित र सुरक्षित कर्जा नीतिको परिणाम हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि १.८१ प्रतिशत खराब कर्जाका साथ आफ्नो विरासत जोगाउन सफल देखिएको छ ।
तर, अर्कोतिर केही ठूला र आक्रामक बैंकहरूको अवस्था भने अलि फरक छ । एनआईसी एशिया बैंक, जसले विगत केही वर्षदेखि आक्रामक रूपमा बजार विस्तार गरेको थियो । अहिले सबैभन्दा बढी खराब कर्जा भएको बैंकको सूचीमा दरिएको छ ।
चैत २०८२ सम्म आइपुग्दा यसको खराब कर्जा ८.८५ प्रतिशत पुगेको छ । यो अंकले बैंक व्यवस्थापनलाई कति दबाब दिएको होला, सहजै अनुमान गर्न सकिन्छ । प्रभु बैंकको अवस्था पनि उस्तै छ । जहाँ ८.८४ प्रतिशत कर्जा खराब सूचीमा पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंक जस्ता पुराना र स्थापित बैंकहरूको एनपीएल पनि ८ प्रतिशतको हाराहारीमा पुग्नुले बजारमा कतै प्रणालीगत समस्या त सुरु भएको होइन भन्ने प्रश्न उब्जाएको छ ।

कर्जा असुलीको सकस: कसले सुधार्यो, को चिप्लियो?
खराब कर्जाको अंक मात्र हेरेर पुग्दैन । त्यो कुन गतिमा बढिरहेको छ भन्ने कुरा झन् महत्वपूर्ण हुन्छ । यो एक वर्षको अवधिमा सबैभन्दा धेरै प्रगति गर्नेमा नेपाल एसबीआई बैंक देखिएको छ । अघिल्लो वर्ष ४.०६ प्रतिशत रहेको यसको खराब कर्जा १.५३ प्रतिशतले घटेर २.५३ मा झरेको छ । यसले के संकेत गर्छ भने । यदि बैंकले कडाइका साथ असुलीमा ध्यान दिने हो भने खराब कर्जालाई नियन्त्रण गर्न असम्भव छैन ।
नबिल, सिद्धार्थ र माछापुच्छ्रे बैंकले पनि थोरै भए पनि आफ्नो खराब कर्जा घटाउन सफल भएका छन् । जुन यो चुनौतीपूर्ण समयमा सकारात्मक पक्ष हो ।
यसको ठीक उल्टो केही बैंकहरूको खराब कर्जा बढ्ने दर भने डरलाग्दो छ । प्रभु बैंकको खराब कर्जा एकै वर्षमा ३.७५ प्रतिशतले बढेको छ भने एनआईसी एशियाको ३.१० प्रतिशतले ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनपीएल पनि २.३५ प्रतिशतले बढ्नुले के देखाउँछ भने विगतमा गरिएका कतिपय कर्जा लगानीहरू अहिले ’ब्याकफायर’ भइरहेका छन् । विशेषगरी घरजग्गा र व्यापारिक क्षेत्रमा गएको कर्जा समयमा नउठ्दा र ब्याज पुँजीकरणमा राष्ट्र बैंकले कडाइ गर्दा बैंकहरूको वास्तविक अनुहार बाहिर आएको हो ।
तथ्यांकको यो जालोभित्र लुकेको मुख्य सन्देश के हो भने अब बैंकहरूले ’साइज’ भन्दा पनि ’क्वालिटी’ मा ध्यान दिनुपर्ने बेला आएको छ । ५.२५ प्रतिशतको औसत खराब कर्जाले के देखाउँछ भने अब धेरै बैंकहरू राष्ट्र बैंकको नियामकीय दबाबमा पर्नेछन् । एनपीएल ५ प्रतिशत भन्दा माथि पुग्नु भनेको बैंकले लाभांश बाँड्न नपाउनु र थप कर्जा लगानी गर्न समस्या हुनु हो ।
बैंकिङ क्षेत्र भनेको विश्वासको जगमा उभिएको क्षेत्र हो । निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि बैंकहरूले आगामी दिनमा कर्जा असुलीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
अहिलेको यो तथ्यांकले बैंकहरूलाई आत्मसमीक्षा गर्ने अवसर दिएको छ । जो बैंकले समयमै आफ्नो कर्जा पोर्टफोलियोलाई शुद्धीकरण गर्न सक्छन्, उनीहरू नै भोलिको बजारका विजेता हुनेछन् ।
एभरेष्ट र एसबीआई जस्ता बैंकहरूले देखाएको बाटो ढिलोचाँडो अरू बैंकहरूले पनि पछ्याउनै पर्छ । अन्यथा खराब कर्जाको यो डढेलोले नाफा मात्र होइन, बैंकको साख नै स्वाहा पार्न सक्छ ।
















