१२ श्रावण २०८३, मंगलबार

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम



काठमाडौं । एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर–२, मिबाछेंमा बुद्ध जयन्तिको पावन अवसरमा मुठीदान कार्यक्रम भव्य तथा भावपूर्ण वातावरणमा सम्पन्न भएको छ । वि.सं. २०७३ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि विशेष रूपमा आयोजना गरिएको हो ।

कार्यक्रममा भक्तपुरस्थित मुनिविहारका भिक्षु तथा श्रामणेरहरूको गरिमामय उपस्थिति रहेको थियो । महागुरु, गुरु तथा श्रामणेर गरी २९ जना अतिथिहरू तथा ६ जना सेवक–सेविकाहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा एभरेस्ट इङ्लिस स्कुल र भगिनी संस्था एभरेस्ट भक्तपुर स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो ।

बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेशले विद्यालय परिसरलाई शान्त, गम्भीर र करुणामय वातावरणमा रूपान्तरण गरेको अनुभूति सहभागीहरूले गरेका थिए । भिक्षुहरूको प्रत्यक्ष उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र भावनात्मक बनाएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले बालबालिकामा दान, सेवा र संवेदनशीलताको भावना विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गरे । “एकजनाले दिए मुठी, धेरैले दिए मुरी” भन्ने सन्देशले सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने उनले प्रश्ट पारे ।

यसै क्रममा भक्तपुर मुनिविहारका तर्फबाट विपस्वी महास्थाविरका साथै स्वदेश विदेशबाट आएका गुरुहरुले बुद्ध दर्शनसम्बन्धी प्रेरणादायी धम्मोपदेश प्रस्तुत गरेका थिए । जसलाई उपस्थित सबैले अत्यन्त चासोपूर्वक सुनेका थिए ।

कार्यक्रमबाट संकलित रु. २०,९७०/– नगदसहित ४ मुरी चामल, २ बोरा बिस्कुट, १ बोरा साबुन, १ बोरा दाल, १ बोरा चिउरा, २ बोरा नुन, १५ दर्जन कापी, १५ दर्जन कलम तथा पेन्सिल तथा फलफूल लगायतका सामग्रीहरू भक्तपुर मुनिविहारलाई हस्तान्तरण गरिएको छ ।