काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा
काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक चियाघर सञ्चालनमा आएको छ ।
आजदेखि औपचारिक रूपमा सुरु गरिएको उक्त चियाघरले परम्परागत चिया संस्कृतिलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
करिब ९ आना क्षेत्रफलमा फैलिएको चियाघर एकैपटक करिब १०० जना ग्राहक अट्ने क्षमतासहित सञ्चालनमा आएको हो । आन्तरिक सजावट आधुनिक शैलीमा गरिएको छ । जसले ग्राहकलाई आरामदायी वातावरणमा चिया सेवनसँगै भेटघाट गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका घर भएका अनुराग खनाल, सुयोग बस्नेत र नुवाकोटका परमिश दाहालको संयुक्त लगानीमा ‘चिया बन्धु’ स्थापना गरिएको हो।अध्ययनकालदेखि नै सहकार्यमा रहेका उनीहरूले सोही सहकार्यलाई व्यवसायमा रूपान्तरण गर्दै चियाघर सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक खनालका अनुसार काठमाडौंमा गुणस्तरीय चिया र सहज भेटघाट स्थलको अभाव महसुस भएपछि यो अवधारणा अघि सारिएको हो ।
उद्घाटनको अवसरमा विशेष अफरसमेत राखिएको थियो। पहिलो दिन ग्राहकहरूले मसला चिया र कुकीज १० रुपैयाँमै प्राप्त गर्न सक्ने व्यवस्था गरिँदा बिहानैदेखि चियाघरमा उल्लेख्य भीड देखिएको थियो । सञ्चालकका अनुसार उद्घाटनकै दिन एक हजार कपभन्दा बढी चिया बिक्री भएको छ ।
चिया मात्र नभई विभिन्न खाजा तथा नास्ताको समेत व्यवस्था गरिएको चियाघरले विशेषगरी युवा पुस्ता र कार्यालय जाने कर्मचारीलाई लक्षित गरेको छ । कालिकास्थान क्षेत्रमा नयाँ स्वाद र सामाजिक भेटघाटको केन्द्रको रूपमा ‘चिया बन्धु’ स्थापित हुने अपेक्षा गरिएको छ ।













