इन्धन वृद्धिको संकटले स्थायी रूपमा बन्द भयाे स्पिरिट एयरलाइन्स, १७ हजार जनाको रोजगारी गुम्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इन्धन वृद्धिको संकटले स्थायी रूपमा बन्द भयाे स्पिरिट एयरलाइन्स, १७ हजार जनाको रोजगारी गुम्यो



काठमाडौँ । सस्तो हवाई भाडाका लागि चिनिएको अमेरिकी विमान कम्पनी ‘स्पिरिट एयरलाइन्स’ ले आफ्नो सम्पूर्ण व्यवसायिक उडान र सेवाहरू स्थायी रूपमा बन्द गरेको छ। वित्तीय संकटमा फसेको यो कम्पनीले अन्ततः मे २, २०२६ देखि आफ्नो सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

अमेरिकाको आठौँ ठूलो विमान कम्पनी स्पिरिटले अचानक सेवा बन्द गरेपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन्। कम्पनीले आफ्ना सबै उडानहरू रद्द गर्दै ग्राहक सेवा (कस्टमर सर्भिस) समेत बन्द गरेको छ। स्पिरिटले एक विज्ञप्ति जारी गर्दै ३४ वर्षसम्म ‘अल्ट्रा-लो-कस्ट’ मोडेलमार्फत उद्योगमा प्रभाव पारेकोमा गर्व व्यक्त गर्दै मे २ बाट सञ्चालन बन्द गरिएको पुष्टि गरेको छ।

यात्रुहरूलाई विमानस्थल नजान र अन्य विमान कम्पनीहरूमा आफ्नो यात्रा पुनः बुक गर्न निर्देशन दिइएको छ। क्रेडिट वा डेबिट कार्डबाट टिकट काटेकाहरूलाई स्वचालित रूपमा पैसा फिर्ता (रिफण्ड) गरिने कम्पनीले जनाएको छ, तर ट्राभल एजेन्टमार्फत बुकिङ गर्नेहरूले भने एजेन्टसँगै सम्पर्क गर्नुपर्नेछ।

यद्यपि, भउचर वा ‘फ्री स्पिरिट पोइन्ट्स’ प्रयोग गरेर बुक गर्नेहरूको हकमा भने तत्काल फिर्ता हुने निश्चित छैन, जसको निर्णय अदालतको प्रक्रियाबाट हुनेछ।

किन बन्द भयो स्पिरिट एयरलाइन्स?

पछिल्लो समय इरान युद्धका कारण इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण कम्पनी गम्भीर आर्थिक संकटमा परेको थियो। युद्धले विश्वको करिब २० प्रतिशत तेल आपूर्तिमा असर गरेपछि जेट इन्धनको मूल्य आकासिएको थियो।

सन् २०२५ अगस्टमा दोस्रो पटक टाट पल्टिएको घोषणा गरेको यस कम्पनीले ट्रम्प प्रशासनसँग ५०० मिलियन डलरको उद्धार प्याकेजका लागि प्रयास गरेको थियो। तर, एक प्रमुख ऋणदाता समूहले उक्त प्रस्तावमा विमति जनाएपछि र सरकारले पनि थप सम्झौता गर्न नसकेपछि कम्पनी बन्द गर्ने निर्णयमा पुगेको हो।

स्पिरिट एयरलाइन्स बन्द हुँदा करिब १४ हजार स्थायी कर्मचारी र ३ हजार ठेक्कामा कार्यरत कामदार गरी कुल १७ हजार मानिसको रोजगारी खोसिएको छ। यसमा २ हजार भन्दा बढी दक्ष पाइलट र ५,५०० उडान परिचारिकाहरू सामेल छन्।

बजार र यात्रुमा पर्ने प्रभाव

सस्तो भाडा उपलब्ध गराउने मुख्य कम्पनी नै बजारबाट हटेपछि अमेरिकामा समग्र हवाई भाडा बढ्ने निश्चित छ। उड्डयन तथ्याङ्क फर्म ‘सिरियम’ का अनुसार मे महिनाका लागि मात्र स्पिरिटका ९ हजार उडानहरू निर्धारित थिए, जसबाट करिब १८ लाख सिटहरू कटौती भएका छन्। यसले बजारमा प्रतिस्पर्धा कम भई भाडा दरमा वृद्धि ल्याउनेछ।

यात्रुहरूको असुविधालाई मध्यनजर गर्दै युनाइटेड, डेल्टा, जेटब्लु र साउथवेस्ट एयरलाइन्सले स्पिरिटका यात्रुहरूका लागि एकतर्फी करिब २०० डलरमा सिट उपलब्ध गराउने बताएका छन्।

अमेरिकी यातायात सचिव सन डफीका अनुसार फ्रन्टियर एयरलाइन्सले मे १० सम्म आधारभूत भाडामा ५० प्रतिशत छुट दिने र एलिजेन्ट एयरले पनि भाडा स्थिर राख्ने सहमति जनाएका छन्।

मजदुर युनियनहरूको आक्रोश

विमान चालक (पाइलट) र उडान परिचारिका (फ्लाइट एटेन्डेन्स) हरूका विभिन्न युनियनहरूले यस निर्णयलाई ‘विनाशकारी’ भनेका छन्।

एयर लाइन पाइलट्स एसोसिएसनका अध्यक्ष क्याप्टेन जेसन अब्रोसिनीले पाइलटहरूले कम्पनी बचाउन करोडौँको सहुलियत दिए पनि यो परिणाम आउनु दुखद भएको बताएका छन्। युनियनहरूले सरकारलाई कामदारहरूको स्वास्थ्य बीमा र आम्दानीको रक्षा गर्न र उनीहरूलाई तत्काल सहायता उपलब्ध गराउन माग गरेका छन्।

यो अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि ‘मिडवे एयरलाइन्स’ बन्द भएयताकै ठूलो र पहिलो एयरलाइन्स ‘सटडाउन’ हो।


प्रतिक्रिया दिनुहोस्