अन्ततः सरकारले खारेज गर्यो कर्मचारी ट्रेड युनियन
काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूमा रहँदै आएको ट्रेड युनियनको व्यवस्थालाई पूर्ण रूपमा हटाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत यस्तो कानुनी व्यवस्था गरिएको हो।
विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सय बुँदे कार्यसूचीमा कर्मचारी ट्रेड युनियन हटाउने विषयलाई प्राथमिकताका साथ समावेश गरेको थियो। सोही नीतिअनुसार कानुन संशोधन गर्दै ट्रेड युनियन खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा पनि ट्रेड युनियनको व्यवस्था नराख्ने गरी मस्यौदा तयार गरिरहेको थियो।
निजामती सेवालाई थप प्रभावकारी बनाउन र कर्मचारीतन्त्रलाई दलीय राजनीतिबाट मुक्त गराउन यो कदम चालिएको मन्त्रालयको दाबी छ।
यद्यपि, आधिकारिक ट्रेड युनियन हटाउने तयारी भएदेखि नै विभिन्न दल निकट कर्मचारी संगठनहरूले यसप्रति कडा आपत्ति जनाउँदै आएका थिए। विधेयकमाथि राय र सुझाव सङ्कलन भइरहेकै समयमा अध्यादेशमार्फत यो व्यवस्था लागू गरिएको छ।













