निजी क्षेत्रको सम्मान र दोस्रो चरणको आर्थिक सुधारमा अध्यक्ष ढकालको जोड - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

निजी क्षेत्रको सम्मान र दोस्रो चरणको आर्थिक सुधारमा अध्यक्ष ढकालको जोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन र निजी क्षेत्रको मनोबल उच्च राख्न दोस्रो चरणको आर्थिक सुधारको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रको मागअनुसार ’निजी क्षेत्र प्रवद्र्धन तथा संरक्षण रणनीति’ पारित गरेकोमा खुसी व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनले उद्योगी व्यवसायीमा सुरक्षाको प्रत्याभूति गराउने विश्वास व्यक्त गरे ।

मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सरकारका सबै निकायको मुख्य उद्देश्य हुनुपर्ने बताए । उनले महासंघको पहलमा दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्न र केही पुराना कानुनहरू खारेजीको प्रक्रियामा लैजान अर्थमन्त्रीलाई आग्रह समेत भने ।

आर्थिक रूपान्तरणका लागि महासंघले आफ्नै नेतृत्वमा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ’नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी काम सुरु गरिसकेको जानकारी गराउँदै ढकालले यसबाट स्वदेशी पुँजी परिचालन गरी ४० देखि ५० अर्बसम्मका ठूला आयोजना अगाडि बढाउन सकिने स्पष्ट पारे । “नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्दै स्वदेशी पुँजीबाटै ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन यो कम्पनी सफल हुनेछ,“ ढाकालले भने ।

मुलुकमा विद्यमान बेरोजगारी र युवा पलायनको भयावह स्थितिप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले श्रम बजारमा प्रवेश गर्ने वार्षिक ५ लाख युवामध्ये ठूलो हिस्सा कामको खोजीमा विदेशिनु दु:खद भएको बताए । उनले नेपालको औसत उमेर २५ वर्ष रहेको र छिमेकी राष्ट्रहरू भारत र चीनको ठूलो बजारको लाभ लिन सकेमा नेपालको उत्पादन विश्व बजारमा प्रतिस्पर्धी हुने दाबी गरे ।

सुशासनका लागि प्रविधिको उच्चतम प्रयोग हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र ’नागरिक एप’ बाटै व्यवसाय दर्ता लगायतका सबै काम गर्न सकिने व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले भूतप्रभावी कानुनहरूले व्यवसायीमा अविश्वास बढाएको भन्दै नीतिगत स्थिरता र पारदर्शीताको आवश्यकता औंल्याए ।

विगतमा भूकम्प र कोभिड–१९ जस्ता संकटहरूले अर्थतन्त्रलाई थला पारे पनि निजी क्षेत्र धैर्य र संयमताका साथ अगाडि बढेको स्मरण गर्दै अध्यक्ष ढकालले अबको दिनमा निराशा होइन, आशा छर्दै अघि बढ्न सबै उद्यमी व्यवसायीहरूलाई आह्वान गरेका थिए ।

आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दु बनाउनुपर्ने सुझाव दिँदै उनले ‘निजी क्षेत्रको सम्मान समृद्धिको आधार’ भन्ने नारालाई सार्थक बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्