धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको प्रतिस्पर्धा: आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको प्रतिस्पर्धा: आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि हालसम्म १५ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको सिफारिस समितिले आह्वान गरेको आवेदन बुझाउने म्याद आज सोमबार (२१ वैशाख २०८३) सकिँदै छ ।

चयन प्रक्रिया र समिति अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । उक्त समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् । इच्छुक उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आफ्नो आवेदन र विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

आवश्यक योग्यता र अनुभव धितोपत्रसम्बन्धी ऐनअनुसार बोर्डको अध्यक्ष बन्नका लागि उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यसका साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुनको क्षेत्रमा कम्तीमा सात वर्षको व्यावसायिक अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

आवेदकहरू नेपाली नागरिक हुनुका साथै उच्च नैतिक आचरण भएको हुनुपर्नेछ । तर, विभिन्न कसुरमा संलग्न व्यक्तिहरूका लागि भने कडा मापदण्ड तोकिएको छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, वन्यजन्तु वा पुरातात्त्विक सम्पदासम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्तिहरू यस पदका लागि योग्य हुने छैनन् ।

त्यसैगरी, कालोसूचीमा परेका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति (एच्) लिएका र सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न व्यक्तिहरूलाई पनि प्रतिस्पर्धाबाट बाहिर राखिएको छ । सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी उपयुक्त उम्मेदवारहरूको नाम सरकारलाई सिफारिस गर्नेछ ।

बोर्डको अध्यक्ष पदका लागि बोर्डका बहालवाला उच्च कर्मचारीदेखि पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर तथा वित्तीय क्षेत्रमा अनुभव बटुलेका व्यक्तिहरुले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् । त्यसैगरी, पँजीबजारमा सक्रिय पुरुषोतमराज चिमोरिया (शिव चन्द्र), पूर्व मर्चेन्ट बैंकर झवेन्द्र खत्री, पूर्व मर्चेन्ट बैंकर विनोद आचार्य, डा. गोपाल भट्ट लगायतले बोर्डको अध्यक्ष पदमा आवेदन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्