उद्योगपति शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योगपति शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश



काठमाडौं। सर्वोच्च अदालतले प्रतिष्ठित व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ। गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो फैसला सुनाएको हो।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गरेको छ। अदालतको आदेशमा भनिएको छ कि यदि उनलाई धरौटी वा जमानतमा छाड्न सकिने विकल्प छ भने सोही प्रक्रिया अपनाउनु पर्नेछ, र त्यसो गर्न नसकिएको अवस्थामा मात्र थुनामा राख्न पाइनेछ।

यसअघि अनुसन्धान अधिकारीले उनलाई थुनामा राख्न लिएको अनुमति र त्यसको प्रक्रियालाई समेत इजलासले खारेज गरिदिएको छ। अदालतले धरौटी वा जमानतको व्यवस्था हुँदाहुँदै थुनामा राख्नु न्यायोचित नहुने ठहर गरेको छ।

व्यवसायी गोल्छालाई गत वैशाख ११ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डले बुझाएको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान आवश्यक रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको थियो।


प्रतिक्रिया दिनुहोस्