युद्धविराम तोड्दै युएईमाथि इरानको भीषण आक्रमण: तेल डिपोमा आगलागी, देशभरका विद्यालय बन्द - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

युद्धविराम तोड्दै युएईमाथि इरानको भीषण आक्रमण: तेल डिपोमा आगलागी, देशभरका विद्यालय बन्द



काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) को पूर्वी भेगमा पर्ने फुजैराह इमिरेट स्थित ‘फुजैराह पेट्रोलियम इन्डस्ट्रिज जोन’ मा इरानी ड्रोनका कारण भीषण आगलागी भएको छ। उक्त आक्रमणमा परी तीन जना भारतीय नागरिक घाइते भएका छन्।

गत अप्रिल ८ मा इरान र अमेरिकाबीच युद्धविराम भएपछि युएईमा भएको यो पहिलो आक्रमण हो। युएईले यस घटनालाई इरानले आफ्नो देशमा दर्जनौँ मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ।

यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मोजमा रोकिएका ट्याङ्करहरूलाई सुरक्षित बाटो दिन नयाँ प्रयास सुरु गरेलगत्तै भएको हो।

गत फेब्रुअरी २८ मा अमेरिका-इजरायल र इरानबीच युद्ध सुरु भएदेखि यो मुख्य सामुद्रिक मार्ग प्रायः बन्द रहेको छ। इरानको एकीकृत सैन्य कमाण्डले व्यापारिक जहाजहरूलाई अमेरिकी प्रस्ताव नमान्न चेतावनी दिँदै यदि अमेरिकी सेना उक्त क्षेत्रमा प्रवेश गरेमा आक्रमण गरिने बताएको थियो।

युएईको रक्षा मन्त्रालयका अनुसार उसका हवाई प्रतिरक्षा प्रणालीले दिनभरमा इरानबाट प्रहार गरिएका १२ वटा ब्यालिस्टिक मिसाइल, ३ वटा क्रुज मिसाइल र ४ वटा ड्रोनहरूलाई विफल पारेका थिए। युएईको विदेश मन्त्रालयले नागरिक क्षेत्र र सुविधाहरूलाई लक्षित गरी गरिएको यस आतंकवादी र उत्तेजित आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

मन्त्रालयले आफ्नो सुरक्षा र सार्वभौमसत्तामाथि हुने कुनै पनि खतरा सहन नसकिने र यसको जवाफ दिने पूर्ण अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।

इरानको खण्डन र प्रत्यारोप

इरानले भने युएईको आरोपलाई अस्वीकार गरेको छ। इरानी राज्य प्रसारक आईआरआईबीका अनुसार तेल प्रशोधन केन्द्रमा आक्रमण गर्ने उनीहरूको कुनै पूर्व-निर्धारित योजना थिएन।

इरानले यस घटनालाई ‘प्रतिबन्धित जलमार्गबाट अवैध रूपमा जहाजहरू लैजान खोज्ने अमेरिकी सैन्य दुस्साहस’ को परिणाम भनेको छ र यसको जिम्मेवार अमेरिका हुनुपर्ने बताएको छ।

साथै, इरानको अर्ध-आधिकारिक तस्निम समाचार एजेन्सीले युएईले कुनै अविवेकी कदम चालेमा उसका सबै स्वार्थहरू इरानको निशाना बन्ने चेतावनी दिएको छ।

सामुद्रिक डकैती र थप झडप

युएईले आफ्नो ट्याङ्कर ‘बराहकाह’ माथि भएको आक्रमणलाई “सामुद्रिक डकैती” को संज्ञा दिएको छ। इरानी मिडियाले भने इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले अमेरिकी युद्धपोतहरूलाई हर्मोजको जलडमरुमध्यमा प्रवेश गर्नबाट रोकेको दाबी गरेका छन्।

फार्स न्यूज एजेन्सीले दुईवटा मिसाइलले जास्क टापु नजिकै अमेरिकी युद्धपोतलाई लागेको बताए पनि अमेरिकी सेनाले त्यसको खण्डन गरेको छ।

यस घटनापछि युएईको शिक्षा मन्त्रालयले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै देशभरका सबै सरकारी र निजी विद्यालयहरूमा शुक्रबारसम्मका लागि अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा साउदी अरब, कतार, कुवेत, बहराइन र जोर्डन लगायतका देशहरूले इरानको आक्रमणको निन्दा गर्दै युएईलाई समर्थन जनाएका छन्।

त्यस्तै, क्यानडा, जर्मनी, बेलायत र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै इरानलाई वार्तामा फर्कन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्