महासंघको आगामी नेतृत्वलाई मतदाताको सुझाव: साना उद्योगी, व्यवसायीको पक्षमा काम होस् ! - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

महासंघको आगामी नेतृत्वलाई मतदाताको सुझाव: साना उद्योगी, व्यवसायीको पक्षमा काम होस् !



काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र प्रभावशाली संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) यतिबेला चुनावी राप र चापमा छ । राजधानीको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको आँगनमा देशैभरिबाट भेला भएका उद्योगी र व्यवसायीहरूको चहलपहलले निजी क्षेत्रको ’मिनी संसद्’को झल्को दिइरहेको छ ।

सोमबारदेखि सुरु भएको महासंघको ६० औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया अगाडि बढाएसँगै अबको नेतृत्व कसको हातमा जाला भन्ने कौतूहल मात्रै छैन बरु आउने नेतृत्वले शिथिल बनेको अर्थतन्त्रलाई कसरी चलायमान बनाउला भन्ने गम्भीर अपेक्षा पनि उत्तिकै छ ।

महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्ने निश्चित छ । तर, भावी नेतृत्वको लागि महत्त्वपूर्ण मानिने वरिष्ठ उपाध्यक्ष पदका लागि भने चुनावी मैदान निकै रोचक बनेको छ ।

महासंघको राजनीतिमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल स्पष्ट रूपमा आमनेसामने भएका छन् । यी दुई प्यानलबीचको प्रतिस्पर्धाले चुनावी माहौललाई निकै तताएको छ ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति नै अन्जन श्रेष्ठपछि स्वत: अध्यक्ष बन्ने प्रावधान अबको पटक भने हुने छैन । महासंघले विधान परिवर्तन गरेर अध्यक्षमा पनि फेरी निर्वाचन हुनुपर्ने भन्ने प्रावधान राखेको छ ।

वर्तमान अध्यक्ष चन्द्र ढकाल र भावी अध्यक्ष अन्जन श्रेष्ठ लगायतका हस्तीहरूले मतदान गरिसक्दा पनि मतदाताका रूपमा आएका जिल्ला र नगरका व्यवसायीहरूमा भने केही फरक खालको छटपटी र आशा देखिन्छ ।

नेतृत्वसँग व्यवसायीका अपेक्षा र साना उद्योगीको पीडा
महासंघको यो तामझामपूर्ण निर्वाचन भइरहँदा भुइँतहमा रहेका साना र मझौला व्यवसायीहरूको आवाज भने अलि फरक सुनिन्छ । निर्वाचनको यो माहोलमा सहभागी हुन आएका व्यवसायीहरूले अब आउने नेतृत्वले केवल ठूला घरानाको मात्रै स्वार्थ नहेरी साना र मझौला उद्योगीका समस्यालाई पनि राज्यको मूलधारमा ल्याउनुपर्ने सुझाव दिएका छन् ।

विशेष गरी कोभिड–१९ पछिको असहज परिस्थिति र त्यसपछि देखिएको आर्थिक शिथिलताले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा पुगेको व्यवसायीहरूको गुनासो छ ।

निर्वाचनमा सहभागी हुन आएका व्यवसायी जयप्रकाश शर्माका अनुसार अबको नेतृत्वले ठूला र साना व्यवसायीबीचको खाडल पुर्ने काम गर्नुपर्छ । उनी भन्छन्, “हाम्रो अपेक्षा भनेकै साना व्यवसायीका समस्यालाई नेतृत्वले सम्बोधन गरोस् भन्ने हो ।“

कोभिडको समयमा थलिएका उद्योगीहरूलाई बैंकको ब्याजदर र पुनर्कर्जा जस्ता विषयमा नेतृत्वले सरकारसँग प्रभावकारी समन्वय गर्न नसकेको भान धेरै व्यवसायीलाई भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको कडा नीति र चर्को ब्याजदरले साना उद्यमीहरू विस्थापित हुने अवस्थामा पुगेकाले अबको नेतृत्वले यसमा “बोल्ड“ हस्तक्षेप गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

त्यस्तै, लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष जानुका पराजुली अधिकारी पनि वर्तमान परिवेशमा व्यवसायीहरूको खस्किएको मनोबल उठाउन सक्ने नेतृत्वको आवश्यकता औँल्याएकी छिन् । उनीहरूका अनुसार निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि सरकारले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन ।

नयाँ नेतृत्वले नीतिगत सुधारका लागि सरकारसँग दरिलो रूपमा आवाज उठाउनुपर्ने र लगानीमैत्री वातावरणका लागि पैरवी गर्नुपर्ने उनीहरूको तर्क छ । “निजी क्षेत्र सुरक्षित महसुस गर्ने वातावरण नभएसम्म देशको अर्थतन्त्रले गति लिन सक्दैन,“ पराजुलीले भनिन्, “हाम्रो समस्या बुझ्ने र राज्यसँग लड्न सक्ने सक्षम नेतृत्व नै हाम्रो रोजाइ हो ।“

अर्का व्यवसायी मनीष ढकालका अनुसार सरकारको कर नीति र बजारको अस्थिरताले पनि व्यवसायलाई थप संकटमा पारेको छ । ट्याक्स पोलिसीहरू व्यवसायीमैत्री हुनुपर्ने र सरकारले व्यवसायीलाई हेर्ने नजरमा सम्मान हुनुपर्ने उनको बुझाइ छ ।

अग्र्यानिक उत्पादनमा लागेका साना उद्यमीदेखि ठूला उद्योगसम्म सबैलाई समेट्न सक्ने ’ब्यालेन्स’ नेतृत्वको खाँचो अहिलेको महासंघलाई देखिएको ढकाल बताउँछन् । व्यवसायीहरूले विशेष गरी नयाँ सरकार र निजी क्षेत्रबीचको समन्वयकारी भूमिकामा महासंघले पुलको काम गरोस् भन्ने चाहेको उनले अर्थपथसँग बताए ।

महासंघको यो निर्वाचन केवल एउटा प्यानलको जित वा हार मात्र नभई संकटमा परेको नेपाली अर्थतन्त्रलाई सही दिशा दिन सक्ने सारथिको खोजी बन्ने अपेक्षा देशभरबाट आउने व्यवसायीले गरेका छन् ।

अब आउने नयाँ कार्यसमितिले राजधानीका चिल्ला होटलहरूमा हुने बैठकमा मात्रै सीमित नभई दुर्गमका जिल्ला नगर उद्योग वाणिज्य संघका पीडालाई पनि सिंहदरबारसम्म पुर्‍याउन सके मात्र यो निर्वाचनको वास्तविक अर्थ रहने सना उद्योगि व्यवसायीले अपेक्षा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्