समस्याग्रस्त सहकारीका पीडितले जेठदेखि रकम फिर्ता पाउने, साना बचतकर्तालाई पहिलो प्राथमिकता
काठमाडाैं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
वैशाख ९ गतेदेखि काम सुरू गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको विस्तृत विवरण संकलन गरी रकम फिर्ताको अन्तिम तयारी पूरा गरेको हो। यो प्रक्रिया सुरु भएसँगै सहकारीमा रकम डुबेका सर्वसाधारणहरूले जेठको पहिलो हप्तादेखि नै आफ्नो बचत फिर्ता पाउने निश्चित भएको छ।
समस्याग्रस्त घोषित सहकारीका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेकोमा समितिले पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिने रणनीति बनाएको छ।
कूल बचतकर्तामध्ये अधिकांश साना लगानीकर्ता रहेका छन्। समितिले ५ लाख रुपैयाँसम्म जम्मा गर्नेलाई साना र सोभन्दा बढी बचत गर्ने १८ हजार जनालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरी सोही अनुसार व्यवस्थापन मिलाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचतकर्ताको रकम फिर्ता गराउन आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिएकी छन्। समितिका अनुसार जेठको पहिलो सातादेखि बचत फिर्ताको काम सुरु हुनेछ भने यसअघि मागदाबी गर्न छुटेका बचतकर्ताका लागि साउनको पहिलो साता पुनः निवेदन दिने अवसर प्रदान गरिनेछ।
यसैबीच, समितिका सदस्यसचिव रविन ढकालले बचतकर्ताको रकम सुनिश्चित गर्न कर्जा असुली प्रक्रियामा कानुन बमोजिम कठोर नीति अपनाइने बताएका छन्।













