निजी क्षेत्रको ठूलो छाता संगठन एफएनसीसीआइमा अञ्जन श्रेष्ठको कार्यकाल सुरु
काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) मा नयाँ नेतृत्वको कार्यभार औपचारिक रूपमा सुरु भएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष बन्ने प्रावधान अनुरूप अञ्जन श्रेष्ठले नयाँ अध्यक्षको रूपमा आफ्नो कार्यकाल सम्हालेका छन् ।
महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो ३ वर्षे सफल कार्यकाल पूरा गरी पदबाट बिदा लिएका छन् । ढकालको कार्यकालमा निजी क्षेत्रको साख अभिवृद्धि, वैदेशिक लगानीको पहल र सरकार–निजी क्षेत्रबीचको समन्वयमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको चर्चा गरिएको छ । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै उद्यमी, व्यवसायी र सचिवालयका कर्मचारीहरूलाई धन्यवाद दिँदै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरे ।
नयाँ कार्यभार सम्हाल्दै अध्यक्ष अञ्जन श्रेष्ठले शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनु आफ्नो मुख्य प्राथमिकता छ ्। उनले उद्योगी व्यवसायीका समस्या समाधान गर्न र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारसँग दरिलो पैरवी गर्नुपर्ने छ ।
नेपालको अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रको नेतृत्व गर्ने यस संगठनमा नयाँ नेतृत्व आएसँगै व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ ।
















