उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षलाई प्रश्न: तपाईँको कार्यकाल कस्तो रह्यो ? (भिडियो)
काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको रौनक फेरिएको छ । निर्वाचनको सरगर्मीसँगै नेतृत्व हस्तान्तरणको भएको छ । हिजोसम्म अध्यक्ष रहेको चन्द्र ढकाल अहिले पूर्व अध्यक्षको भुमिकामा पुगेका छन् ।
तीन वर्षअघि महासंघको बागडोर सम्हाल्दा ढकालका सामु चुनौतीका चाङ थिए । कोभिडपछिको थलिएको अर्थतन्त्र, बैंकमा तरलताको हाहाकार, र आकाशिएको ब्याजदरले व्यवसायीहरू छटपटाइरहेका थिए । आज तीन वर्षको कार्यकाल पूरा गरेर बाहिरिँदै गर्दा ढकालले आफूलाई सफल कप्तानका रूपमा उभ्याउने प्रयास गरेका छन् ।
उनले आफ्नो कार्यकाललाई कसरी सम्झिए र अब आउने नेतृत्वलाई के सुझाव दिए भन्नेबारे हामीले उनलाई सोधेका थियौँ ।
महासंघको यो निर्वाचन एउटा नियमित प्रक्रिया भए पनि ढकालका लागि यो तीन वर्ष विशेष रह्यो । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानअनुसार उनले नेतृत्व लिएका थिए तर अबको विधान परिवर्तनले महासंघलाई नयाँ मोडमा पुर्याएको छ ।
‘मैले कार्यभार सम्हालेपछि पाँचवटा कुराहरूलाई म यो–यो गर्छु भनेर भनेको थिएँ, ती पाँचै वटा कुराहरू वास्तवमा पूरा भएका छन् ।’ आफ्नो कार्यकालको समीक्षा गर्दै ढकालले भने, ‘त्यतिबेला बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) को चरम अभाव थियो । ब्याजदर दोहोरो अंकमा पुगेर उद्योगीहरू सडकमा ओर्लिने अवस्था थियो ।’ ती दिनहरूलाई छिचोल्दै आजको सहज अवस्थासम्म ल्याउन महासंघले खेलेको भूमिकालाई उनी आफ्नो मुख्य सफलता मान्छन् ।
पहिले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध केवल ’माग्ने र दिने’ जस्तो मात्रै थियो । व्यवसायीले माग राख्ने र सरकारले आश्वासन दिने परम्परालाई ढकालले चिर्न खोजे । उनले सरकारसँग तर्कसंगत (लजिकल) हिसाबले कुरा राख्न सुरु गरे ।
उनले भने, ‘सरकारसँग लजिकल हिसाबले कुरा राख्यो भने आफ्ना इसुहरू पूरा हुन सक्छन् भन्ने कुरा यो कार्यकालमा प्रमाणित भयो ।’ यही सहकार्यको प्रतिफलस्वरूप उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने र पुराना कानुनहरू परिवर्तन गर्ने एजेन्डा महासंघले नै अगाडि बढायो। झन्डै एक दर्जन कानुनहरू संशोधनको प्रक्रियामा जानु र केही परिवर्तन हुनुलाई उनले ठुलो उपलब्धि मानेका छन् ।
ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रलाई हेर्ने सरकारी र सार्वजनिक दृष्टिकोणमा परिवर्तन ल्याउन निकै मिहिनेत गरे । उनकै पालामा मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निजी क्षेत्रको मनोबल बढाउने र उनीहरूलाई हेर्ने दृष्टिकोण बदल्ने निर्णय भएको ढकाल बताउछन् । यसलाई उनी गौरवका साथ सुनाउँछन् । ‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ भनेर हामीले भनेका थियौँ, त्यो वास्तवमा पहिलो क्याबिनेटबाटै निर्णय भयो ।’
हिजोको मन्त्रिपरिषद्ले पनि त्यसलाई थप अगाडि बढाएकोमा उनी सन्तुष्ट देखिएका छन् ।
महासंघभित्रको आन्तरिक राजनीतिका हिसाबले पनि ढकालको कार्यकाल स्मरणीय रहनेछ । दशकौँदेखि थाती रहेको विधान संशोधनको काम उनले फत्ते गरे । अब महासंघको अध्यक्ष हुनका लागि प्रत्यक्ष निर्वाचनमा जानुपर्ने व्यवस्था गरिएको छ । यो परिवर्तनले महासंघलाई अझ लोकतान्त्रिक र बलियो बनाउने उनको विश्वास छ ।
उनले भने, ‘विधान संशोधनको कुरा दशौँ वर्षदेखि रोकिएको थियो, त्यो हामीले समयमै गरेर अब प्रत्यक्ष निर्वाचन हुने बाटो खोलेका छौँ ।’
काम गर्दै जाँदा सबै कुरा सोचेजस्तो सहज पक्कै भएन । कोभिडको पराकम्प, विश्व राजनीतिमा देखिएका द्वन्द्वका असरहरू र मुलुकभित्रको राजनीतिक अस्थिरताले कतै न कतै काममा अवरोध पुर्याएकै थियो । तर, यी सबैका बाबजुद ढकाल निराश छैनन् ।
उनी भन्छन्, ‘नेपालमा सम्भावना छैन भन्ने जुन एउटा नेगेटिभ भाष्य बनेको छ, त्यो वास्तविक होइन । यहाँ जहाँ हेर्यो त्यहाँ सम्भावना देखिन्छ ।’ पर्यटनमा भारत र चीनको विशाल बजारलाई उपयोग गर्न सकिने, जलविद्युत् र आइटी क्षेत्रमा युवाहरूको जोसलाई परिचालन गर्न सकिने कुरामा उनी निकै आशावादी सुनिए ।
अब आउने नयाँ नेतृत्वका लागि ढकालको एउटै मन्त्र छ– ‘निरन्तरता’ । उनले सुरु गरेका नीतिगत सुधारका कामहरू र सरकारसँगको सहकार्यलाई मात्रै निरन्तरता दिए पनि निजी क्षेत्रका धेरै समस्याहरू आफैँ समाधान हुने उनको दाबी छ ।
‘मैले सुरु गरेको कामलाई आउने कार्य समितिले कन्टिन्यु मात्रै गरिदिए पुग्छ, यसले निजी क्षेत्रका धेरै इसुहरू अटोमेटिक रूपमा सर्ट आउट हुन्छन्’ ढकाले अर्थपथसँगको कुराकानीमा भने, ‘कानुन परिवर्तन भइसकेको र लगानीको वातावरण बन्दै गएकाले अबको नेतृत्वले कार्यान्वयनमा मात्रै जोड दिए पुग्छ ।’













