सानिमा क्यापिटलले बिक्रीमा ल्यायाे १ अर्बको म्युचअल फण्ड
काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले आज (वैशाख २४ गते) देखि १ अर्ब रुपैयाँ बराबरको ‘सानिमा इक्विटी फन्ड–२’ नामक बन्द मुखी योजना बिक्रीमा ल्याएको छ ।
१० करोड इकाई निष्कासन गरिएको यो फन्ड सानिमा क्यापिटलको चौथो बन्द मुखी योजना हो । जसको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ । बजारमा पर्याप्त तरलता भएको र विगतको उत्कृष्ट व्यवस्थापकीय रेकर्डका कारण यो फन्ड ४ कार्य दिनभित्रै सफलतापूर्वक बिक्री हुनेमा कम्पनी पूर्ण रूपमा विश्वस्त देखिएको छ ।
निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भन २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
सो फण्डको इकाई खरिदका लागि बैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति जेठ ७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास खनालका अनुसार यो योजना मुख्यत: बजारको गहिरो ज्ञान नभएका वा लगानीका लागि पर्याप्त समय दिन नसक्ने लगानीकर्ताहरूको पोर्टफोलियो व्यावसायिक रूपमा व्यवस्थापन गरिदिने उद्देश्यले ल्याइएको हो ।
१० वर्षे अवधिको यस बन्द मुखी योजनाले लगानीकर्ताबाट संकलित पुँजीलाई ऋणपत्र, सेयर र मुद्दती निक्षेप जस्ता विभिन्न वित्तीय उपकरणहरूमा रणनीतिक रूपमा विविधीकरण गर्नेछ । यसरी गरिने लगानीले जोखिमलाई न्यून गर्ने र लगानीकर्तालाई औसत १० प्रतिशतको हाराहारीमा प्रतिफल प्रदान गर्ने ऐतिहासिक प्रवृत्ति रहेको कम्पनीको भनाइ छ ।
अहिलेको सेयर बजारको उतारचढावलाई कम्पनीले जोखिम भन्दा पनि एउटा अवसरको रूपमा लिएको छ । खनालले स्पष्ट पारेका छन् कि संकलित रकमलाई तत्कालै सबै सेयरमा लगानी नगरी बजारको सूक्ष्म अध्ययन पछि मात्र विज्ञ टोलीमार्फत बिस्तारै परिचालन गरिनेछ ।
यो १० वर्षको लामो अवधिको योजना भएकाले यसले बजारको पूर्ण आर्थिक चक्र (साइकल) लाई समेट्ने र तत्कालीन बजारको गिरावटले दीर्घकालीन प्रतिफलमा खासै असर नपार्ने दाबी गरिएको छ । बैंकको निक्षेपमा जस्तो प्रतिफल दर पहिल्यै निश्चित नभए पनि ऐतिहासिक रूपमा म्युचुअल फन्डहरूले नेपालमा ९ देखि १२ प्रतिशतसम्म औसत प्रतिफल दिएका उदाहरणहरू छन् ।
सानिमा क्यापिटलको इतिहास हेर्दा यसअघिको ‘सानिमा इक्विटी फन्ड–१’ ले आफ्नो ७ वर्षको निर्धारित अवधि पूरा गरी सफलतापूर्वक परिपक्व भइसकेको छ र इकाई धनीहरूलाई उचित प्रतिफलसहित लगानी फिर्ता गरिसकेको छ ।
हाल कम्पनीसँग दुईवटा बन्द मुखी र एउटा खुला मुखी फन्ड चालु अवस्थामा छन् । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुनु र लगानीका अन्य सुरक्षित क्षेत्रहरू सीमित हुनुले म्युचुअल फन्डमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
प्रमुख कार्यकारी अधिकृत खनालले लगानीकर्ताहरूलाई यो योजनालाई अल्पकालीन चस्माले नहेरी ८ देखि १० वर्षको दीर्घकालीन दृष्टिकोणले हेर्न र ढुक्क भएर यो लगानीको अवसर सदुपयोग गर्न आग्रह गरेका छन् ।













