सेयर बजारको ‘सुस्त लय’ मा बैंकहरुको चमत्कार: ९ महिनामै ९ अर्ब ३७ करोड कमाई, कसले कति कमाए ?
काठमाडौं । नेपाली पुँजी बजारले पछिल्लो समय लगानीकर्तालाई खासै उत्साह दिन नसकेको गुनासो सुनिइरहँदा मुलुकका वाणिज्य बैंकहरुले भने यही बजारबाट मनग्ये लाभ उठाउन सफल भएका छन् ।
सञ्चालन मुनाफा र ब्याज आम्दानीमा निकै उतारचढाव बेहोरिरहेका बैंकहरुका लागि सेयर बजारबाट हुने आम्दानी (ट्रेडिङ इन्कम) एक बलियो सहारा बनेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकलाई हेर्ने हो भने २० वटा वाणिज्य बैंकले सेयर बजारमा गरेको लगानी र कारोबारबाट मात्रै ९ अर्ब ३७ करोड १ लाख २६ हजार रुपैयाँ आम्दानी गरेका छन् ।
यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१३ प्रतिशतले बढी हो । गत वर्ष चैतसम्म बैंकहरुले ६ अर्ब ८८ करोड ३१ लाख ५७ हजार रुपैयाँ मात्रै यस क्षेत्रबाट कमाएका थिए । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घटेको समयमा बैंकहरुले आफ्नो कोषलाई सेयर बजारमा परिचालन गरेर नाफा सुरक्षित गर्ने रणनीति अपनाएको देखिन्छ । बैंकहरुको यो आम्दानीले उनीहरुको खस्कँदो नाफालाई थाम्न केही हदसम्म सहयोग पुर्याएको छ । जसले गर्दा समग्र बैंकिङ क्षेत्रको वासलातमा केही चमक देखिएको छ ।
आम्दानीको दौडमा को अगाडि, को पछाडि ?
सेयर बजारबाट हुने आम्दानीको सूचीमा ग्लोबल आइएमई बैंकले आफूलाई सबैभन्दा अगाडि उभ्याएको छ । यो बैंकले ९ महिनाको अवधिमा ९५ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गर्दै शीर्ष स्थान कब्जा गरेको हो । जम्मा १ अर्बको आँकडा छुन केही करोड मात्रै बाँकी रहेको ग्लोबल आइएमईको यो कमाइ अन्य बैंकको तुलनामा निकै लोभलाग्दो छ ।
ग्लोबललाई पछ्याउँदै नबिल बैंकले ७५ करोड ८९ लाख २४ हजार रुपैयाँ आफ्नो पोल्टामा पारेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७१ करोड ८९ लाख ४३ हजार रुपैयाँ आम्दानी गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ ।
त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ६९ करोड ५९ लाख ४० हजार र सानिमा बैंकले ६५ करोड ४० लाख ७६ हजार रुपैयाँ सेयर बजारबाटै कमाएका छन् । तर, सबै बैंकका लागि सेयर बजार सधैँ सुखद भने रहेन ।
तथ्यांकअनुसार कृषि विकास बैंकको अवस्था भने निकै निराशाजनक देखिएको छ । यो बैंकले सेयर बजारबाट आम्दानी गर्नुको साटो ६ करोड ९७ लाख ७२ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एसिया बैंक आम्दानीको सूचीमा पुछारतिर देखिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले १९ करोड २२ लाख ५४ हजार र एनआइसी एसियाले १८ करोड ९६ लाख ४६ हजार रुपैयाँ मात्र आम्दानी गर्न सकेका छन्, जुन उनीहरुको सञ्जाल र आकारको तुलनामा न्यून मान्न सकिन्छ ।

कुमारी र लक्ष्मी सनराइजको कमाल
आम्दानीको आकार मात्र होइन वृद्धिको हिसाबले हेर्दा कुमारी बैंकले सबैलाई अचम्ममा पारेको छ । कुमारी बैंकको सेयर बजारबाट हुने आम्दानी गत वर्षको तुलनामा ११९.०१ प्रतिशतले बढेको छ । गत वर्ष २५ करोड ५६ लाख ४९ हजार रुपैयाँ कमाएको यो बैंकले यसपालि ५५ करोड ९९ लाख १ हजार रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले पनि १११.६१ प्रतिशतको उत्साहजनक वृद्धि हासिल गर्दै ६९ करोड ५९ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि यसपटक सेयर बजारमा आफ्नो सक्रियता बढाउँदै ११०.४४ प्रतिशतको वृद्धि देखाएको छ ।
केही स्थापित बैंकहरुको वृद्धिदर भने सुस्त देखिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आम्दानी जम्मा ११.१६ प्रतिशतले मात्र बढेको छ भने नेपाल बैंक लिमिटेडको आम्दानी ३५.६९ प्रतिशतले घटेर २५ करोड ९१ लाख ६६ हजार रुपैयाँमा खुम्चिएको छ ।
अघिल्लो वर्ष ४० करोड ३० लाख ५ हजार कमाएको नेपाल बैंकको यो गिरावटले उसको बजार रणनीतिमाथि प्रश्न उठाएको छ । सबैभन्दा ठूलो गिरावट भने कृषि विकास बैंकमा देखिएको छ । जसको आम्दानी ८०.६० प्रतिशतले ऋणात्मक बनेको छ ।
चतुर लगानी र समयको सही पहिचान गर्न सक्ने बैंकहरुले सेयर बजारलाई ’दुहुनो गाई’ बनाउन सफल भएका छन् भने केही बैंकहरु अझै पनि पुरानै शैली र जोखिमबाट डराएको देखिन्छ । यो तथ्यांकले स्पष्ट पार्छ कि आगामी दिनमा बैंकहरुको नाफा केवल ब्याजदरमा मात्र होइन सेयर बजारको उतारचढाव र उनीहरुको ’ट्रेडिङ’ कुशलतामा पनि उत्तिकै निर्भर रहनेछ ।













