नियम मिच्ने सगरमाथा लुम्बिनी र लर्ड बुद्धलाई बीमा प्राधिकरणको डण्डा, जरिवानासहित गर्‍यो कारबाही - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नियम मिच्ने सगरमाथा लुम्बिनी र लर्ड बुद्धलाई बीमा प्राधिकरणको डण्डा, जरिवानासहित गर्‍यो कारबाही



काठमाडाैं । नेपाल बीमा प्राधिकरणले प्रचलित बीमा ऐन र निर्देशनहरूको उल्लंघन गरेको ठहर गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई आर्थिक जरिवानासहितको कारबाही गरेको छ।

प्राधिकरणले जारी गरेको पछिल्लो निर्णयअनुसार, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमाको प्रिमियममा नियमविपरीत छुट दिएको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ, भने स्वामित्व परिवर्तन सम्बन्धी व्यवस्था पालना नगर्ने लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ‘सम्पत्ति बीमा निर्देशन, २०८०’ को दफा २५ को उपदफा (२) को स्पष्ट उल्लंघन गरेको देखिएको छ। उक्त कानूनी व्यवस्थामा बीमालेख जारी गर्दा तोकिएको बीमा शुल्कमा कुनै पनि प्रकारको छुट, रियायत वा सहुलियत दिन नपाइने कडा प्रावधान छ।

तर, कम्पनीले नियमको बर्खिलाप हुने गरी बीमा शुल्कमा डिस्काउन्ट दिएको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम कारबाहीको निर्णय लिइएको हो। निर्देशनमा बीमा अभिकर्ता प्रयोग नगरी सिधै बीमा गरिएको खण्डमा मात्रै निश्चित सहुलियतको व्यवस्था भए पनि सोबाहेकका अन्य अवस्थामा दिइने छुटलाई अवैध मानिएको छ।

यसैगरी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले ‘पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८’ मा उल्लेखित स्वामित्व परिवर्तन सम्बन्धी प्रावधानलाई लत्याएको प्राधिकरणको ठहर छ।

निर्देशिकाको दफा १५ मा पुनर्बीमा दलालको इजाजतपत्र प्राप्त संस्थाले नियामकको पूर्व स्वीकृतिबिना आफ्नो संस्थाको स्वामित्व परिवर्तन, हस्तान्तरण वा विघटन गर्न नपाइने व्यवस्था छ।

सोही व्यवस्थाको उपदफा (१) र (२) को पालना नगरेका कारण उक्त कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड (क) बमोजिम जरिवाना गरिएको हो।

बीमा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्राधिकरणले पछिल्लो समय नियमनमा कडाइ गर्दै आएको छ। कम्पनीहरूले व्यवसाय वृद्धिको नाममा अस्वस्थ प्रतिस्पर्धा गर्ने र कानूनले बर्जित गरेका सहुलियतहरू दिएर बीमा शुल्क घटाउने प्रवृत्ति देखिएपछि प्राधिकरणले यस्तो कदम चालेको हो।


प्रतिक्रिया दिनुहोस्