के स्ट्रेट अफ हर्माेज खुला गर्न अमेरिका र इरानबीच सहमति भएकाे हाे ?
काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न र विश्वकै महत्वपूर्ण सामुद्रिक मार्ग ‘स्ट्रेट अफ हर्माेज’ पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल सुरु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार दुवै मुलुक एक पृष्ठको ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर गर्ने अन्तिम तयारीमा पुगेका छन्।
पाकिस्तानको विशेष मध्यस्थतामा भइरहेको यो वार्ता सफल भएमा इरानले आगामी १० देखि १५ वर्षसम्म आफ्नो आणविक संवर्द्धनका गतिविधि पूर्ण रूपमा रोक्नुपर्नेछ। यसको बदलामा वासिङ्टनले तेहरानमाथि लगाइएका कडा आर्थिक प्रतिबन्धहरू हटाउने र रोक्का गरिएको अर्बौँ डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्ने प्रस्ताव गरेको छ।
यता दुबईस्थित सञ्चार माध्यम ‘अल अरबिया’ ले भने बिहीबार नै दुवै पक्षबीच नौसैनिक नाकाबन्दी खुकुलो पार्ने विषयमा सहमति भइसकेको दाबी गरेको छ।
उक्त रिपोर्टका अनुसार इरानले जलसन्धि क्रमशः खुला गर्दै लैजाने र त्यसको बदलामा अमेरिकाले आफ्नो जलसेनाको अवरोध हटाउनेछ। यो सहमतिसँगै विगत केही समयदेखि उक्त मार्गमा फसेका व्यापारिक जहाजहरू आगामी केही घण्टाभित्रै सुरक्षित रूपमा बाहिर निस्कने अपेक्षा गरिएको छ।
फेब्रुअरी २८ बाट सुरु भएको यो सैन्य द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट देखिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा ठूलो प्रगति भएको र युद्ध चाँडै समाप्त हुनेमा आफू आशावादी रहेको बताए। सहमतिको वातावरण बनाउन ट्रम्पले अलपत्र परेका जहाज उद्धार गर्ने आफ्नो सैन्य अभियान ‘प्रोजेक्ट फ्रीडम’ लाई समेत अस्थायी रूपमा रोक्ने घोषणा गरेका छन्।
हाल इरानले अमेरिकाद्वारा प्रस्तावित १४ बुँदे शान्ति खाकाको गम्भीर समीक्षा गरिरहेको छ। यदि यो समझदारी कार्यान्वयनमा आएमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्ने र विश्व अर्थतन्त्रमा राहत पुग्ने देखिएको छ।
यद्यपि, राष्ट्रपति ट्रम्पले वार्ता विफल भएमा पुनः कडा सैन्य कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ। अहिले सारा विश्वको ध्यान हर्मुज जलसन्धि खुल्ने र दुई देशबीचको तनाव मत्थर हुने घडीतर्फ केन्द्रित भएको छ।













